

डडेल्धुरा: नवजात शिशु र आमाको जीवन जोखिमबाट जोगाउन घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने अभियानको लक्ष्य डडेल्धुरामा पूरा हुने सम्भावना देखिएको छैन । स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठसम्ममा जिल्लामा घरमै ९० जना सुत्केरी भएको पाइएको छ ।
७ वटा स्थानीय तह रहेको जिल्लामा अजयेमरु, नवदुर्गा र गन्यापधुरा गाउँपालिकाबाहेक चार स्थानीय तहमा घरमा सुत्केरी भएको तथ्याङ्कले देखाएको छ । सबैभन्दा बढी जिल्लाको भित्रमधेसमा पर्ने परशुराम नगरपालिकामा ४२ जना महिला घरमै सुत्केरी भएका छन् । मंगलबार स्वास्थ्य कार्यालय डडेल्धुराले आयोजना गरेको ‘पत्रकारसँग स्वास्थ्यसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
आलिताल गाउँपालिकामा ३५, भागेश्वर गाउँपालिकामा ११ र जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा २ महिला घरमै सुत्केरी भएको स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँदले जानकारी दिए ।
जिल्लामा नवजात शिशु मृत्युको संख्या १३ जना रहेको छ। जसमा परशुराम नगरपालिकामा ६, अजयमेरु गाउँपालिकामा ३, अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकामा २/२ जना रहेको जनस्वास्थ्य अधिकृत साउँदले बताए ।
जन्मपश्चात् पहिलो २८ दिनभित्र हुने मृत्युलाई नवजात शिशु मृत्यु भनिन्छ । स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठसम्म डडेल्धुरामा मातृ मृत्युको संख्या ४१ जना रहेको छ ।
जिल्लाका स्थानीय तहमा दरबन्दीअनुसार स्वास्थ्यकर्मी अपुग रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्लाका सातवटा स्थानीय तहमा स्वास्थ्य सेवामा मात्रै स्वीकृत दरबन्दी संख्या १ सय ५६ जना रहेको छ । जसमा १ सय ३० जना कार्यरत रहेका छन् । जिल्लामा स्वीकृत दरबन्दीमध्ये २६ जनाको पदपूर्ति हुन सकेको छैन । दरबन्दी अनुसार स्वास्थ्यकर्मी अपुग भएपछि यहाँका स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा करारबाट कर्मचारी भर्ना गरेका छन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लामा सञ्चालित मेडिकल तथा फार्मेसीहरूमा कडाइका साथ अनुगमन गर्नुपर्ने बताए । सरकारले निःशुल्क प्रदान गर्ने ९८ प्रकारका औषधि ग्रामीण क्षेत्रमा पर्याप्त उपलब्धता नरहेको उल्लेख गर्दै उनले त्यसतर्फ पनि ध्यान दिन स्वास्थ्य कार्यालयको ध्यानाकर्षण गराए ।
स्वास्थ्य कार्यालयका प्रमुख साउँदले आधारभूत स्वास्थ्य सुदृढीकरणमा आफूले जनशक्तिले भ्याएसम्म काम गरिरहेको बताए ।
उनले चालु आर्थिक वर्षमा कार्यालयले भौतिक तथा वित्तीय प्रगति ९० प्रतिशत बढी गरेका जानकारी दिए । आगामी दिनमा मेडिकल तथा फार्मेसीहरूको अनुगमनलाई तीव्रता दिइने प्रतिबद्धता जनाए ।



