

दोलखा । दोलखाको जिरी नगरपालिका–९ मा एक महिला शिक्षिकामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। केही दिनअघि काठमाडौं पुगेर फर्किएकी ती शिक्षिकामा रुघा, खोकी, ज्वरो तथा जिउ दुख्नेलगायतका लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
जिरी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत केशव दहालका अनुसार संक्रमित शिक्षिका हाल स्वस्थ रहेकी छन्। उनमा अहिले कुनै लक्षण देखिएको छैन।
जिरी–९ ठूलोपातलस्थित एक विद्यालयमा भदौ २७ गते दुई जना शिक्षकमा रुघा, खोकी र ज्वरो देखिएको थियो। त्यसपछि विद्यार्थी तथा अभिभावकमा समेत यस्तै समस्या देखिन थालेपछि असोज ४ गतेदेखि विद्यालय बन्द गरिएको थियो।
ठूलोपातलमा इन्फ्लुएन्जाका बिरामी देखिएको जानकारीपछि जिरी नगरपालिकाबाट चिकित्सकसहितको टोली पुगेको थियो। टोलीले शिक्षक, विद्यार्थी र अभिभावकसहित सात जनाको स्वाब परीक्षण गरेकोमा एक महिला शिक्षिकामा कोभिड–१९ संक्रमण पुष्टि भएको जनस्वास्थ्य अधिकृत सुस्मिता रिमालले बताइन्। परीक्षण गरिएका सात जनामध्ये पाँच जनामा भने इन्फ्लुएन्जा देखिएको थियो।
बिरामी सात जनाको स्वाब असोज ६ गते संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो। प्रयोगशालाबाट असोज ९ गते शुक्रबार एक जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको नगरपालिकाले जनाएको छ।
संक्रमण पुष्टि भएकी शिक्षिकालाई अहिले होम आइसोलेसनमा राखिएको छ। उनीसँग नजिक रहेका केही व्यक्तिमा रुघा, खोकी र ज्वरोजस्ता सामान्य समस्या देखिएपछि उनीहरूलाई समेत होम आइसोलेसनमा राखेर स्वास्थ्य निगरानी भइरहेको जिरी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
जिरी नगरपालिका–९ को ठूलोपातल, लेखखर्क र सल्लेमा डेंगु, स्क्रब टाइफस र इन्फ्लुएन्जाका लक्षण भएका बिरामी देखिएका छन्। यद्यपि कसैलाई पनि अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था नरहेको जनस्वास्थ्य अधिकृत रिमालले बताइन्।
नगरपालिकाका अन्य केही क्षेत्रमा भने डेंगु र स्क्रब टाइफसका बिरामी मात्र देखिएको उनको भनाइ छ। सुरुमा संक्रमण देखिएका बिरामी निको भइसकेको र केही नयाँ बिरामीसमेत देखिएकाले स्वास्थ्य शाखाले कन्ट्याक्ट ट्रेसिङको काम जारी राखेको जनाएको छ।



