

धनगढी: तुलनात्मक रूपमा सुविधा सम्पन्न अस्पताल रहेकाले सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत उपचारका लागि बिरामीहरू आउने प्रदेशको अस्थायी राजधानी धनगढीमा रगतको अभाव बढेको छ। चर्को गर्मी र खेतीपातीको सिजनमा रक्तदाता घटेपछि रगतको अभाव भएको हो। बिरामीका लागि रगत खोज्न आफन्तले हैरानी व्यहोर्नुपरिरहेको छ ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र धनगढीमा रगतको मौज्दात घट्दो छ। बिरामीका लागि आवश्यक परेका वेला तत्कालै रगत पाउने अवस्था छैन । गर्मीयाम सुरु भएसँगै रगत आपूर्तिमा समस्या देखिएको प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताए ।
गत आपूर्तिको सबैभन्दा भरपर्दो स्रोत स्वयंसेवी रक्तदाता भएको, तर गर्मी सिजनमा रक्तदाताको संख्या घटेको रक्त सञ्चार केन्द्रले जनाएको छ । केन्द्रका अनुसार हिजोआज ‘ए पोजेटिभ’ समूहको रगतको अभाव तुलनात्मक रूपमा बढी रहेको छ ।
समयमै रगत नपाउँदा कतिपय शल्यक्रियासमेत प्रभावित भइरहेका बताइएको छ । रक्त सञ्चार केन्द्रबाट दैनिक ५० देखि ६० युनिट रगत खपत हुँदै आएको छ । रक्तदाता भने दैनिक न्यूनतम १० देखि अधिकतम २५ जना पुग्ने गरेका केन्द्रले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलालीले रगत अभावको समस्या बढ्दै गएकाले रक्त सञ्चार केन्द्रमा आएर रक्तदान गर्न वा रक्तदान कार्यक्रमहरू सञ्चालन गरी सहज आपूर्तिमा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।



