

एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंगलबार मदिराबाट बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताएको छ। हालैका वर्षमा मृत्युदरमा थोरैले कमी आए पनि यो ‘अस्वीकार्यरूपमा उच्च’ रहेको संगठनको भनाइ छ ।
मदिरा र स्वास्थ्यसम्बन्धी राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीको पछिल्लो प्रतिवेदनमा मदिरा सेवन गरेर सवारी चलाउने, मदिरा–प्रेरित हिंसा र दुर्व्यवहार तथा धेरै रोग र विकारका कारण प्रत्येक वर्ष वैश्विकस्तरमा हुने २० मृत्युमा करिब एकको मृत्यु मदिराका कारण हुने बताइएको छ ।
उपलब्ध पछिल्लो आँकडाअनुसार सन् २०१९ मा २६ लाख मृत्यु मदिरा सेवनका कारण भएको प्रतिवेदनमा उल्लेख छ। यो सो वर्ष विश्वभरमा भएका सबै मृत्युको चार दशमलव सात प्रतिशत थियो । यसमा करिब तीन–चौथाइ मृत्यु पुरुषहरूको भएको थियो।
सन् २०१९ मा २० देखि ३९ वर्ष उमेरका मानिसमा मदिराका कारण हुने मृत्युको उच्चतम अनुपात १३ प्रतिशत रहेको डब्लुएचओले बताएको छ ।
क्यान्सर र कार दुर्घटना
मदिरा सेवनको सम्बन्ध कलेजो सिरोसिस र केही क्यान्सरजस्ता धेरै स्वास्थ्य अवस्थासँग जोडिएको छ । सन् २०१० मा यसबाट हुने सबै मृत्युमध्ये करिब १६ लाख गैरसङ्क्रामक रोगहरूबाट भएको पत्ता लागेको प्रतिवेदनमा उल्लेख छ ।
यीमध्ये चार लाख ७४ हजार हृदयरोग, चार लाख एक हजार क्यान्सर तथा सवारी दुर्घटना र स्वयंलाई हानि गर्नेजस्ता चोटपटकबाट सात लाख २४ हजारको मृत्यु भएको थियो ।
प्रतिवेदनले मदिराको दुरुपयोगले मानिसहरूलाई क्षयरोग, एचआइभी र निमोनियाजस्ता सङ्क्रामक रोगप्रति अधिक संवेदनशील बनाउने औंल्याएको छ ।
सन् २०१९ मा अनुमानित २० करोड ९० लाख मानिस मदिराको निर्भरतामा बाँचिरहेका थिए। यो विश्व जनसङ्ख्याको तीन दशमलव सात प्रतिशत हो ।
विश्वभरमा प्रतिव्यक्ति मदिराको कूल खपत नौ वर्षअघिको पाँच दशमलव सात लिटरबाट थोरै घटेर सन् २०१९ मा पाँच दशमलव पाँच लिटर भएको छ। तर समग्रमा मदिराको खपत विश्वभरमा असमानरूपमा वितरण गरिएको छ ।
विश्वको १५ वर्षभन्दा माथि उमेरका आधाभन्दा धेरै जनसङ्ख्या पूर्णरूपमा मदिराबाट अछूतो छ । युरोपमा अहिलेसम्म प्रतिव्यक्ति मदिरा सेवन गर्नेको उच्चतम स्तर नौ दशमलव दुई लिटर छ । त्यसपछि अमेरिकामा सात दशमलव पाँच लिटर छ ।
प्रतिवेदनले सबैभन्दा कम खपत मुख्यगरी उत्तरी अफ्रिका, मध्यपूर्व र एसियाका मुस्लिम मुलुकहरूमा रहेको बताएको छ ।



