

काठमाडौं : चिकित्सा शिक्षा क्षेत्र सुधारका नाममा कयौंपटक अनसन बसिसकेका वरिष्ठ चिकित्सक डा गोविन्द केसी मेडिकल व्यवसायी दुर्गा प्रसाईको लगानीमा रहेको झापास्थित बीएण्डसी मेडिकल बलेजले सम्बन्धन पाए अनसन बस्ने चेतावनी दिएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गरे सर्वोच्च अदालतले बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले जारी गरेको परमादेशविरूद्ध पुनरावलोकनमा जानुपर्ने उनले माग गरेका छन् । सर्वोच्च अदालतले परमादेशअनुसार ४ असारमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेपछि डा केसी फेरि आक्रोशित बनेका हुन्। यसअघि असार १४ गतेबाट अनसन बस्ने घोषणा गरेका उनले आज फेरि त्यसअघि नै अनसन बस्ने चेतावनी दिएका छन् ।
‘पुनरावलोकन प्रक्रिया तुरून्त सुरू गर्न पुन: जोडदार माग गर्दै सम्बन्धनको प्रक्रिया अगाडि नबढाउन आयोगलाई चेतावनी दिन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा पहिले निर्धारित मिति (सार १४ गते) अगावै सत्याग्रह सुरू गर्न बाध्य हुनेछौं ।’
यस्तो छ डा केसीले जारी गरेको प्रेस विज्ञप्ति
हालै, मापदण्ड, पूर्वाधार र विधि नपुगेको झापाको एक अराजक र उछृङ्खल मेडिकल व्यवसायीको अस्पताललाई चिकित्सा शिक्षा ऐनको ठाडो उल्लंघन गर्दै संवैधानिक मर्यादा विपरीत र प्रचलित कानुनको अपव्याख्या गर्दै इजलासमा उपस्थित हतियारधारी निवेदक र उसका बडीगार्डको हतियार आतंकको बीच र कुनै ठोष प्रमाण बिना सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालको नेतृत्वको डिभिजन बेन्चले न्याय विचलन गरि संबन्धन दिनु भन्ने फैसला दियो । सो न्याय विचलन युक्त फैसलाको घोर भत्सर्ना गर्दै सम्बन्धित निकायहरुलाई न्यायिक पुनरावलोकन प्रक्रिया तुरुन्त शुरु गर्न र सम्बन्धित न्यायाधीशलाई संसदीय प्रक्रियाबाट जवाफदेही बनाई पद मुक्त गर्न र न्याय परिषदबाट आवश्यक कारबाही अगाडी बढाउन जोडदार माग राखेको तथ्य सबैलाई अवगत नै छ । २०८१ आषाढ ४ गते चिकित्सा शिक्षा आयोगका गैरकार्यकारी अध्यक्ष तथा प्रधानमंत्री प्रचण्डको अध्यक्षतामा बसेको बैठकले चिकित्सा शिक्षा ऐन ठाडै मिचेर गरेको फैसलाको विरुद्ध पुनरावलोकनमा जाने निर्णय गर्नुको साटो हतार हतार सम्बन्धन दिने निर्णय गरेको समाचारले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। पुनरावलोकन प्रक्रिया तुरुन्त शुरु गर्न पुन जोडदार माग गर्दै सम्बन्धनको प्रक्रिया अगाडी नबढाउन आयोगलाई चेतावनी दिन्छौ। अन्यथा पहिले निर्धारित मिति (आषाढ १४ गते) अगावै सत्याग्रह शुरु गर्न वाध्य हुनेछौं। स्मरण रहोस् दोश्रो चोटी प्रधानमन्त्री भएको बेला प्रचण्डले पदको नग्न रुपमा दुरुपयोग गर्दै दुर्गा प्रसाइको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिलाउन सबै नियमनकारी निकायहरुलाई बारम्बार दबाब दिनुका साथै मंत्री परिषदको बैठकबाट निर्णय गराउने प्रयास समेत गरे तर जन दबाबका कारण सफल हुन सकेनन्। सम्बन्धनका लागि अहिले त मापदण्ड र विधि पुरा भएको छैन भने ८ –९बर्ष अगाडी के अवस्था थियो सजिलै अनुमान गर्न सकिन्छ।
प्रचण्डलगायत नेपालका तथाकथित साम्यवादी र समाजवादी भनाउंदा नेताहरु देश र जनताबाट लुटेको कालोधनलाई सेतो बनाएर थप मुनाफा कमाउन माफियाहरू मार्फत मेडिकल शिक्षा ( मेडिकल÷ नर्सिङ कलेज इत्यादी) र स्वास्थ्य क्षेत्रमा लगानी गरेर यी सेवा मुलक (गैर नाफामुलक) क्षेत्रको चरम व्यापारीकरण गरिरहेका छन्। त्यसको लागि ऐन कानून मिच्नु उनीहरुको लागि सामान्य कुरा हो। विडम्बना ऐनमा उल्लेख भए अनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान खोल्न तिनै नेताहरु बाधक बनेका छन्।
सशस्त्र द्वन्दकालमा प्रचण्डको नेतृत्वमा (तत्कालिन राज्य पक्षबाट पनि) हजारौं निर्दोष व्यक्तिहरु मारिए, हजारौंलाई यातना दिइयो, हजारौँ बाल बालिकाहरुको हातमा बन्दुक थमाईयो, हजारौको अंगभंग भयो र सैयौं अझै बेपत्ता छन् र हजारौं पीडितले न्याय पाएका छैनन्। त्यस्तो मानवतावादी घोर अपराध र युद्ध अपराध गर्ने अभियुक्त प्रचण्ड , सँधैजसो सत्तामा रहेर कारबाहीबाट जोगिन अन्तराष्ट्रीय र नेपालको कानून मिच्ने व्यक्ति वि. एण्ड सी.वाला अदालतको फैसला हतार हतार कार्यन्वयन गर्न किन अग्रसर भए। अदालत र कानुनी राज्यका पक्षधर, अभियुक्तको आधिपत्य कसरी स्वीकार गरिरहेको छन् ? नियुक्ति र बढुवाको आधारहरुमा परिवर्तन भए संगै न्यायाधीश र अदालतहरू कार्यकारी प्रमुख को साथै राजनीतिक दुष्प्रभावबाट मुक्त छैनन् । बरु वि एण्ड सी फैसला प्रकरण लगायतका धेरै फोहोरी कामहरु नग्न रुपमा मिलिमतोमै हुनु मुलुकमा एउटा स्वाभाविक मान्यताको रुपमा स्थापित भै सक्यो ।


