

पोखरा : पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको क्यान्टिनमा म्याद गुज्रेका र अखाद्यवस्तु बिक्री गरेको पाइएको छ। उपभोक्ताले म्याद गुज्रेको बिस्कुट बिक्री गरेको सूचना दिएपछि जिल्ला अनुगमन समितिले आइतबार अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्यवस्तु बिक्री गरेको पाइएको बजार अनुगमन समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
खाद्य र अखाद्यवस्तु एकै ठाउँमा राखेर बिक्री गरेको भेटिएको छ । क्यान्टिनबाट खाद्यवस्तुमा प्रतिबन्धित रसायन ज्योती हाइड्रो केमिकल फेला परेको छ । रसायन परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ । क्यान्टिनमा सरसफाई नगरेको र मूल्यसूची पनि राखिएको छैन । अनुगमन टोलीले क्यान्टिन सञ्चालक कुमारी शाहलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।



