
काठमाडौँ : गत जेठ १२ गते सुर्खेतस्थित मेहे लकुना अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात तथा अस्पतालमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघले सरकारसँग माग गरेको हो ।
सर्पदंशबाट पीडित एक बालकलाई प्राथमिक उपचार गरेर बिरामीका आफन्तलाई पछि आउन सक्ने जटिलताहरूको बारेमा जानकारी गराई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत रेफर गरिएकोमा बाटोमा लैजाँदै गर्दा उक्त बालकको मृत्यु भएको थियो । यसै विषयलाई लिएर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीहरूमाथि हातपात गर्ने जस्ता आपराधिक कार्य गरेको संघले जनाएकाे छ ।
‘उपचारको क्रममा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि नै आक्रमण गर्ने कार्यले स्वास्थ्यकर्मीहरूको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने गरेको कुरा हामी सबैलाई अवगत नै छ ‘ विज्ञप्तिमा भनिएको छ ।
घटनामा संलग्न दोषीहरू अस्पतालको सीसीटिभी क्यामरामा कैद भएकाले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन), २०७९” बमोजिम कानुनी कारबाही गर्नुपर्ने संघको माग छ ।



