काठमाडौं : नेपाल क्यान्सर अस्पतालको ७औँ वार्षिकोत्सवका अवसरमा जनचेतनामूलक सन्देश दिन पदयात्रा कार्यक्रमको आयोजना गरिएको छ ।
ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न जनचेतनामूलक सन्देश रहेका प्लेकार्डसहित ललितपुरको लगनखेल-पुल्चोक हुँदै जावलाखेलसम्म पदयात्रा गरेको हो ।
पदयात्रामा क्यान्सर सरुवा रोग होइन, गुणस्तरीय निदान र उपचार हाम्रो प्रतिबद्धता, समयमै उपचार क्यान्सरको निदान, क्यान्सर हुँदैमा डराउनु पर्दैन, क्यान्सरसँग लड्ने हो डराउने होइन, समय निकालेर आफू र आफ्नो स्वास्थ्य परीक्षण गरौँ, नेपालीको उपचार नेपालमा नै, क्यान्सरको जनचेतना आफ्नै घरबाट सुरु गरौँ, क्यान्सरसँग मिलेर जितौँ जस्ता प्लेकार्ड बोकिएको थियो ।
त्यसैगरी, मंगलबजार तथा जावलाखेल अस्पतालका डाक्टर, नर्स कर्मचारी तथा क्यान्सर विजेताहरुले जनचेतनामूलक सन्देशसहित नृत्यबाट मनोरन्जनात्मक प्रस्तुति समेत दिएका थिए ।
अस्पतालले वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी रुपमा निःशुल्क ओपिडी, रक्तदान कार्यक्रम लगायत विविध कार्यक्रमहरु आयोजना समेत गरिरहेको छ ।