काठमाडौं, १८ जेठ । हड्डी तथा मांसपेशीमा हुने सार्कोमा क्यान्सरको उपचारका क्रममा अंगभंग हुनबाट जोगाउने इन्डोप्रोस्थेटिक सर्जरीलाई सुलभ र विपन्नको पहुँचमा पुर्याउन सरोकारवालाले जोड दिएका छन् ।
१ सयवटा इन्डोप्रोस्थेटिक शल्यक्रिया सम्पन्न गरेको अवसरमा शुक्रवार ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरमा आयोजित कार्यक्रममा अस्पतालका हाडजोर्नी तथा मांसपेशीका शल्यचिकित्सक डा. जनित सिंहले नेपाल क्यान्सर अस्पताल र विभिन्न अस्पतालमा गरि टिम सार्कमा रहेका ८ जना शल्यचिकित्सकले विगत ९ वर्षमा यस्ता दुर्लभ १ सय वटा शल्यक्रिया सम्पन्न गरेको जानकारी दिए ।
किशोरावस्थामा धेरै देखिने र कम मानिसलाई हुने ओस्टियो सार्कामाले मानिसको हड्डी मक्काउने र विस्तारै क्यान्सर मांसपेशी र अन्य अंगमा समेत सर्ने समस्या हुन्छ । क्यान्सर फैलिएर मक्किएको हड्डीमा हड्डी आकार कै स्टिल राखेर शल्यक्रिया गरिन्छ । क्यान्सरले मांसपेशी पनि खराब गरेको खण्डमा त्यहाँको मासु फालेर शरीरका अन्य भागको मासु त्यसठाउँमा प्रत्यारोपण गर्ने गरिन्छ ।
‘पहिलेपहिले हड्डी र मांसपेशीमा क्यान्सर देखिने मानिसको शल्यक्रिया गर्दा सो अंग नै काटेर फाल्नुपर्ने अवस्था हुन्थ्यो । अहिले इन्डोप्रोस्थेटिक शल्यक्रियाका कारणले कयौं बिरामीको ज्यान जोगिएको छ । यो कठिन शल्यक्रिया भएपनि नेपालमा यो सुचारु भइरहेको छ । यस्तो शल्यक्रियाका कारण धेरै मानिसले पुनर्जिवन पाएका छन् ।’ डा. सिंहले स्वास्थ्य डायरीलाई बताए ।
कार्यक्रममा वरिष्ठ हाडजोर्नी शल्यचिकित्सक डा. अशोकरत्न बज्राचार्यले पहिले पहिले यस्ता समस्या भएका बिरामीको हातखुट्टा काट्नुपर्ने अवस्था भएकोमा हाल प्रविधि र जनशक्तिको व्यवस्थाले सहज भएको टिप्पणी गरे ।
‘यो सर्जरी नेपालमा मैले नै पहिलोपटक गरेको हो । सन् १९८९ मा मैले बेलायतमा गएर सिकेपछि यो शल्यक्रिया मैले नेपालमा गरेको थिएँ । तर, हालजस्तो प्रविधिको विस्तार नहुँदा चुनौति थियो । नयाँ पुस्ताका चिकित्सकले यस जटिल शल्यक्रियालाई नेपालमा विस्तार गरेको थाहा पाउँदा गौरव लागेको छ ।’ बज्राचार्यले खुशी व्यक्त गरे ।
यस शल्यक्रियाको प्रकृयामा जाँदा १० देखि १२ लाख रुपैयाँ खर्च हुने गरेको भन्दै चिकित्सकहरुले सरकारले दिने सहुलियत अपुग भएको भन्दै विपन्नको उपचार गर्ने गाह्रो भएको टिप्पणी गरे । दुर्लभ रोग भएको भन्दै उनीहरुले यस्ता उपचारलाई निःशुल्क बनाउन सरकारले लगानी गर्नुपर्ने धारणा राखे ।