

बारा: प्रादेशिक अस्पताल कलैयामा रेबिजविरुद्धको भ्याक्सिन अभाव हुँदा बिरामी मर्कामा परेका छन् । सरकारले अत्यावश्यक ठानेर निःशुल्क उपलब्ध गराउने भ्याक्सिन अस्पतालमा अभाव हुँदा बिरामी भ्याक्सिन नलगाई घर फर्कन बाध्य भएका छन् । केही बिरामी स्थानीय नेताको घरमा सिफारिस लिन जाने गरेका छन् ।
प्रदेश सरकारबाट १५ दिनसम्म पुग्ने रेबिजविरुद्धको भ्याक्सिन कलैया अस्पतालमा आउने गरेको छ । जिल्लाको एक मात्र प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन न्यून मात्रामा आउने गरेको स्टोर फाँटका कर्मचारी बताउँछन् । केही दिनअगाडि अस्पतालले सेवा सुविधा राम्रो दिन थालेपछि बिरामीको चाप बढेको थियो । अस्पतालमा माग अनुसार भ्याक्सिन आउने नसकेकाे ड्रेसिङ फाँटका कर्मचारी महालालप्रसाद यादवले बताए ।
गर्मी बढेसँगै अहिले कुकुरले टोकेका बिरामी बढी आउन थालेको चिकित्सक आशुतोष बादलले बताए । तर, विगत एक सातादेखि कुकुरले टोकेका बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको उनले बताए ।



