

काठमाडौं : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा गाँजाको व्यवसायिक उत्पादन गरिने बताएका छन् । ‘औषधीय प्रयोजनका लागि गाँजाकाे व्यवसायिक उत्पादन गर्न कानूनी व्यवस्था मिलाइनेछ,’ उनले प्रस्तुत गरेकाे बजेट वक्तव्यमा उल्लेख छ ।
अधिकांश सांसद्हरूले नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने माग राखिरहेका थिए । त्यस निम्ति बजेटमार्फत सम्बोधन हुनुपर्ने र कानूनमा आवश्यक संशोधन गर्नुपर्ने उनीहरूको माग थियो ।
अमेरिकाको दबाबमा नेपालले लागुऔषध (नियन्त्रण) ऐन, २०३३ ल्याई गाँजा खेतीमा प्रतिबन्ध लगाएको थियो ।
चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमा पनि सरकारले गाँजाको खेतीको सम्भाव्यता खोज्ने जनाएको थियो । तर हालसम्म ठोस कदम चालेको छैन ।



