

काठमाडौं : स्वास्थ्य सेवा विभागले विभिन्न अस्पतालमा उपलब्ध गराएको भेन्टिलेटर, डायलाइसिस मेसिन लगायतका विभिन्न स्वास्थ्य उपकरणहरु प्रयोगमा नरहेको पाइएको छ ।
महालेखा परीक्षकको ६१औं वार्षिक प्रतिवेदन अनुसार विभागले खरिद गरी विभिन्न अस्पतालमा उपलब्ध गराएको उपकरण प्रयोगविहिन अवस्थामा रहेको पाइएको हो ।
स्वास्थ्य सेवा विभागले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई उपलब्ध गराएको १ करोड ३० लाख मूल्यको ७ थान हेमोडाइलासिस मेसिन, कोशी अस्पतालमा उपलब्ध गराएको २१ लाख १० हजारको १० थान वाइपाप मेसिन र ७४ लाख ८२ हजारको २ थान भेन्टिलेटर मेसिन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा हस्तान्तरण भएको १० करोड ६९ लाख १ हजारको ४५ थान भेन्टिलेटर सहितका उपकरण प्रयोगमा ल्याइएका छैनन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले २०७९ सालमा खरिद गरेको १ करोड ४८ लाख ८४ हजारको अर्थोस्कोपी मेसिन र ओटी टेबुललगायतका उपकरणसमेत प्रयोगमा नआएको महालेखाले जनाएको छ ।
स्वास्थ्य सेवा विभागले अस्पतालहरूको मागवेगर नै उपकरण खरिद गरी अस्पतालहरूलाई हस्तान्तरण गर्ने, मूल्य नखुलाउने, वारेन्टी ग्यारेन्टीका कागजातहरू हस्तान्तरण नगर्नेलगायतका समस्याहरू देखिएको महालेखाले जनाएको छ ।मन्त्रालयले गत विगत वर्षदेखि विभिन्न अस्पतालमा रहेका र यो वर्ष खरिद भएका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरेको छैन ।
मेसिन उपकरणको अतिरिक्त आइसोलेसन सेन्टर तथा क्वारेन्टाइनमा रहेका सामग्रीको एकीकृत लगत राखी सोको प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्ने महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।


