

काठमाडाैं : नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्व रेटिनोब्लाष्टोमा सचेतना सप्ताह (मे १२–१८), र विश्व मायोपिया सचेतना सप्ताह (मे १३–१९) का अवसरमा काठमाडौ लगायत देशैभरका सामुदायिक आँखा केन्द्र तथा सर्जिकल आँखा केन्द्रहरुमा सचेतनात्मक कार्यक्रमको आयोजना गरेको छ ।
रेटिनोब्लाष्टोमा अर्थात बालबालिकाको आँखामा हुनसक्ने क्यान्सरबारे सहि समयमा पहिचानको आवश्यकता रहेको विषयलाई प्रतिष्ठानले मुख्य जोड दिएको छ । अकुलोप्लाष्टि तथा अकुलर अंकोलोजी विभागकी प्रमुख डा.पूर्णिमा राजकर्णिकार स्थापितका अनुसार अध्यारो कोठामा बालबालिकाको तस्बिर खिच्दा आँखाको नानीको कालो भागमा सेतो टिका देखिनु, आँखा असामान्य रुपमा रातो हुनु र दुख्नु, आँखाको आकार ठुलो हुँदै जानु र बाहिरतिर आउनु, आँखाको डेढोपन हुनु र आँखा सुक्दै जानु रेटिनोब्लाष्टोमाको लक्षण हुनसक्छ ।
यी लक्षणहरुलाई सतर्क रुपमा पहिचान गर्दै सहि समयका चिकित्सकसम्म आइपुग्न प्रेरित गर्दै प्रतिष्ठानले ओपन आइज नेपालसँगको सहकार्यमा यस समस्या भएका बालबालिकाका लागि निःशुल्क ओपिडी सेवा, उपचार सेवा तथा प्रोस्थेसीस् सफाईको व्यवस्था गरेको थियो ।
यो सुविधा सचेतना सप्ताह अर्थात बैशाख ३० देखि ज्येष्ठ ५ गतेसम्म लागू रहेको थियो । निःशुल्क सेवा लिने रेटिनोब्लाष्टोमाका बिरामीहरु १० को संख्यामा अस्पतालमा सहभागी भएका छन् ।
त्यस्तै मायोपिया अर्थात टाढा भएका बस्तु हेर्न कठिनाइ हुने आँखाको समस्याको सचेतना सप्ताहमा समेत बालबालिकालाई मुख्य प्राथमिकतामा राखिएको थियो । बालबालिकाहरुको समय–समयमा आँखा जाँच गर्ने, प्रत्येक दिन बाहिरी वातावरणमा २ घण्टा खेल्न प्रेरीत गर्ने, मोबाइल र टि.भी. स्क्रीनबाट टाढा राख्ने र कम प्रयोग गराउने तथा हरेक २० मिनेटमा २० फिट टाढा २० सेकेन्ड हेर्ने बानी बसाल्न आवश्यक रहेको बाल आँखा रोग विशेषज्ञ तथा डेप्युटि डाइरेक्टर डा. सिर्जना अधिकारीले बताएका छन् ।
पहिलोपटक प्रतिष्ठानले मायोपिया सचेतना सप्ताह मनाएकोमा डा. अधिकारीले हरेक बालबालिकाले विद्यालय अध्ययन गर्न जानुअघि अनिवार्य आँखा जाँच गर्न सुझाव दिए ।



