

कास्की : पोखरा महानगरपालिकाले जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन प्रारम्भ गरेको छ । जसअन्तर्गत पहिलो चरणमा पोखरा २५ हेमजा क्षेत्रमा हिजोदेखि यो सेवा सुरु गरिएकोमा त्यसको प्रभावकारीताका आधारमा अन्य वडाहरुमा पनि क्रमश सेवा विस्तार गर्ने योजना महानगरको रहेको नगर प्रमुख धनराज आचार्यले बताए ।
महानगरले यस कार्यक्रमलाई वडा नागरिक आरोग्य कार्यक्रम भनेको छ । जसअन्तर्गत ७० वर्ष माथिका तथा जुनसुकै उमेर समूहका दीर्घ रोगी नागरिकको घरमै पुगी रक्तचाप, नाडीको चाल, स्वासप्रश्वास, जण्डिस, अक्सिजनको मात्रा, मधुमेह, तौल लगायत जाँच गरिने छ ।
त्यसका साथै उनीहरुले खाइरहेको औषधी, नियमित खानपान पनि ठीक छ की छैन भनेर पनि परीक्षण हुने छ ।



