काठमाडौं- बैशाख ३१ गते काठमाडौँमा नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो सस्करण आयोजना हुँदैछ। स्वस्थ नेपाल निर्माणको अग्रसरता सरकार, समुदायिक र निजी क्षेत्र सबैको सहभागिता भन्ने मुल नारा सहित स्वास्थ्य सम्मेलन हुन लागेको हो ।
सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन नेपालको साथमा कान्तिपुर मिडीया ग्रुप र नेपाल स्वास्थ्य पत्रकार मञ्चको सहकार्य र स्वास्थ्य तथा गैरस्वास्थ्य निकायहरुको सहजीकरणमा सम्मेलन हुन लागेको हो । सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्दैछन् ।
उद्घाटन सत्रपछि सम्मेलनका अवसरमा अहिलेका मुख्य सरोकारका विभिन्न ६ वटा विषयहरुमा बृहत छलफल हुँदै छ । छलफलका सत्रहरुमा पहिला मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृश्य र पर्यटनको अवसरका विषयमा छलफल गरिनेछ ।
यस सत्रमा विश्व समुदायले अनुशरण गरेको नेपालीको मौलिक जीवनशैलीलाई कसरी पुन अभ्यासमा ल्याउन सकिन्छ , परिर्वतित समय र व्यस्त जीवनशैलीले निम्त्याएको स्वास्थ्य जटिलता पुर्नमुल्यांकनको आवश्यकता र अन्तर्राष्ट्रिय पर्यटनको अवसर लगायतका विषयमा सरोकारवालापक्षहरुबीच छलफल हुनेछ । साथै जलवायु परिवर्तनका कारण दबाबमा नेपालको जनस्वास्थ्यको विषयमा पनि समम्मेलनका क्रममा छलफल हुँदैछ ।
स्वास्थ्य बीमा कार्यक्रमः चुनौती र अवसर, नसर्ने रोगका जोखिम विरुद्ध हाम्रो रणनिती जस्ता विषयमा पनि बहस हुँदैछ । सम्मेलनका अवसरमा बहसमा नेपालको चिकित्सा शिक्षाको विषयमा पनि बृहत छलफल हँदैछ । मैलिक हकमा समेटिएको स्वास्थ्य सेवामा बढ्दो व्यापारिकरणका विषयमा पनि सम्मेलनमा गहन छलफलको सत्र राखेको छ ।
साथै सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचान सहित परिपूर्तीको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने लक्ष्य लिएको छ । यसका लागि स्वास्थ्य क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्व एवं सरोकारवालाहरु, स्वास्थ्यकर्मीहरू र आम नागरिकहरुबीच छलफलका लागि साझामञ्च प्रदान गर्नेछ ।
स्वास्थ्य क्षेत्रका सम्पूर्ण विषयवस्तुमा खुला छलफल गर्ने साझा मञ्चको रुपमा रहने नेपाल स्वास्थ्य सम्मेलनले समाजका सबै क्षेत्रलाई एउटै मञ्चमा उभ्याउँदै स्वास्थ्य क्षेत्रका सबै आयामबारे स्वस्थ बहस अघि बढाउने बताएको छ । पृष्ठभूमि वा पेशा जस्तोसुकै भए पनि देशको स्वास्थ्य क्षेत्र सुधारका लागि प्रत्येक नेपालीको दायित्व र जिम्मेबारी अनुसार सम्मेलनमा स्वस्थ नेपालका लागि राष्ट्रिय आह्वानका रुपमा अगाडी बढ्ने विश्वास लिइएको छ ।
सम्मेलनबाट प्राप्त सुझावको प्रतिवदेन तयार गरी सरोकारवाला निकायहरुलाई पेश गरिनेछ । यसअघि कोभिड महामारीका बीच स्वास्थ्य सजगता अपनाउँदै त्रिकाल प्रोडक्सनले नेपाल स्वास्थ्य सम्मेलनको पहिलो २०७७ साल चैत्रमा काठमाडौंमा समपन्न भएको थियो ।