काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज २२ औँ स्थापना दिवस मनाउँदै छ । प्रतिष्ठानले २२ वर्षमा एमडी,एमएस र डिएम,एमसीएचसहित विभिन्न विषयका ३ हजार २ सय ४६ दक्ष जनशक्ति उत्पादन गरेको छ ।
चिकित्सा विज्ञानको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान गर्ने उद्देश्यले वि.सं. २०५९ सालमा नेपाल सरकारले वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्तरोन्नति गरी शैक्षिक कार्यक्रम सुरु गरेको हो ।
न्याम्सका उपकुलपति डा भुपेन्द्र कुमार बस्नेतका अनुसार हाल न्याम्समा १९ ओटा विषयमा एमडी/एमएस/एमडीएस अध्यापन हुने गरेको, डिएम/एमसीएचमा १५ ओटा विषयका कार्यक्रमहरू रहेका छन् ।
त्यसै गरी नर्सिङमा तीनओटा स्नातक लेभलका कार्यक्रमहरू रहेका छन् भने विएस्सी एमआईटी, एमएस्सी एमआईटी तथा अप्टोमेट्रिक र एनेस्थेसिया असिस्टेन्ट जस्ता ६८ ओटा विभिन्न विषयमा शैक्षिक तथा फेलोसिप कार्यक्रम सञ्चालन भइरहेको छ ।









