

कञ्चनपुर : रक्तसञ्चार केन्द्र धनगढीले कञ्चनपुरको पुनर्वासका स्थानीयलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउँदै आएको छ । यस्तो व्यवस्था गरिएपछि नियमित रुपमा रगत चढाउनुपर्ने बिरामीलाई राहत पुगेको हो ।
पुनर्वास नगरपालिकाले आफ्ना नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र धनगढीसँग सम्झौता नै गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षदेखि धनगढीस्थित अस्पतालहरूमा उपचार गर्न आउने बिरामीलाई रगत आवश्यक परे निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
पुनर्वास नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बिरामीले चढाएको रगतको पैसा नगरपालिकाले तिर्ने सम्झौता भएको नगर प्रमुख तोयप्रसाद शर्माले बताए। ’धनगढी गएर उपचार गर्ने पुनर्वास नगरपालिकामा बसोबास गर्ने बिरामीलाई रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगतको व्यवस्था गरेका छौँ,’ उनले भने, ’सरकारी तथा निजी जुनसुकै अस्पतालका उपचार गरे पनि सबैले निःशुल्क रगत पाउने र त्यसको रकम नगरपालिकाबाट भुक्तानी गर्छौँ ।’
स्थानीय तहहरूले बिरामीलाई निःशुल्क रगत पाउने व्यवस्था मिलाएका कारण डायलाइसिस, थाइलेसिमिया, सिकलसेल एनिमिया जस्ता रगतजन्य रोग लागेका बिरामीले ठुलो राहत पाएको रक्तसञ्चार केन्द्र धनगढीका प्रमुख धरणीधर पन्तले बताए ।


