

काठमाडौं । मिर्गौला लगायत अंगहरु प्रत्यारोपणका लागि सुरु गरिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ औं वार्षिकोत्सव मनाएको छ ।
मंगलबार आयोजित वार्षिकोत्सव कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले प्रत्यारोपण केन्द्रको आफ्नै भवन र जनशक्ति व्यवस्थापन हुन नसक्दा समस्या भोग्नुपरेको बताएका छन् । साथै उनले सरकारसँग केन्द्रका लागि आफ्नै भवन र जनशक्ति माग गरेका छन् ।
‘सन् २००८ मा विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनले नेपालमा मिर्गौला फेल भएका मानिस ९८ प्रतिशतको मृत्यु हुने बताएको थियो । तर, अहिले हामीले मिर्गौलाको श्९८ प्रतिशत सफल प्रत्यारोपण गरेका छौं भने कलेजोको ९० प्रतिशत सफल प्रत्यारोपण भएको छ ।’ डा. श्रेष्ठले भने, ‘तर, अझै यस केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापित गर्ने कार्य सफल हुन सकेको छैन । आफ्नै भवन र यथेष्ट जनशक्तिको अभाव छ ।’
केन्द्रले संकुचित अस्पताल र सीमित जनशक्तिका बीचमा वर्षेनी एकसय जनाभन्दा धेरैको सफल मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रले स्थापना भएयता हालसम्म एक हजार २ सय ३२ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ भने कलेजो प्रत्यारोपण सुरु भएयता २३ जनाको कलेजो प्रत्यारोपण गरिएको छ । त्यस्तै केन्द्र नेपालकै सबैभन्दा ठूलो डायलासिस सेन्टर पनि हो ।
वार्षिकोत्सव कार्यक्रममा सहभागी भएका भक्तपुरका संघीय सांसदद्वय प्रेम सुवाल र दुर्लभ थापाले केन्द्रका लागि जग्गा व्यवस्थापन गर्न सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनीहरुले अंग प्रत्यारोपणका लागि केन्द्रलाई आवश्यक पर्ने सहयोग गर्न सदन र सरकारसमक्ष पहल गर्ने आश्वासन पनि दिएका छन् ।