वीरगञ्ज : गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताए ।
‘अहिले अस्पतालमा ज्वरो र पेट दुख्ने समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या भने बढेको छ’, उनले भने, ‘सामान्य दिनमा आकस्मिक कक्षमा धेरै बिरामी आउँदैन्थे । तर, अहिले दैनिक ९० भन्दा धेरै जना ज्वरो तथा पेट दुख्ने समस्याका बिरामी आकस्मिक कक्षमा उपचार गर्न आइरहेका छन् ।’
नारायणी अस्पतालमा दैनिक नौ सयभन्दा धेरै बिरामी उपचार गर्न आउने गर्छन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शाहले विगत १५ मा समग्रमा अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा भने धेरै घटबढ नभएको जानकारी दिए ।
‘हामीले आज अस्पतालमा भर्ना भएका बिरामीको १५ दिने तथ्याङ्कको विषयमा समीक्षा गरेका थियौँ । समग्रमा बिरामी भर्ना हुने अवस्थामा खासै फेरबदल भएको देखिएको छैन ।’ आज सिमराको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम भने २० डिग्री सेल्सियस रहेको छ ।
अन्य तराई/मधेसका जिल्ला मुलुककै सबैभन्दा ठूलो औद्योगिक नगरी पर्सामा जनजीवन प्रभावित हुँदै आइरहेको छ । दिनको समयमा अत्यावश्यक काम परे मात्रै सर्वसाधारण बाहिर निस्कने गरेका छन् ।
अन्य दिनको तुलनामा सरकारी कार्यालयमा पनि सर्वसाधारणको भीड न्यून हुँदै आइरहेको छ । वीरगञ्जमा कपडा पसल गर्दै आइरहेका अनिल गुप्ता चर्को गर्मी बढेसँगै सर्वसाधारण किनमेलको लागि निकै कम मात्रै आउने गरेको बताए ।
‘अहिले दिनको समयमा त अत्यावश्यक समान किनमेल गर्ने मात्रै आउने गर्छन,’ उनले भने, ‘बिहान र बेलुकीपख मात्रै पसलहरुमा भीडभाड लाग्ने गर्छ ।’