

काठमाडाैं : योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ । कोषका अनुसार योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ८३ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।
योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ती अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ ।
नियमित योगदान गर्ने योगदानकर्ताले कोशी प्रदेशका १७, मधेश प्रदेशका १४, बागमती प्रदेशका ३२, गण्डकी प्रदेशका आठ र लुम्बिनी प्रदेशका सात वटा, सुदूरपश्चिममा दुई वटा गरी कोषको प्रणालीसँग जोडिएका ८३ अस्पतालमा कोषको परिचयपत्र देखाएर सुविधा लिन सकिने कोषले जनाएको छ ।२०७९ फागुन १ यता देशभरका विभिन्न स्थानमा अनलाइन (लाइभ) सम्झौता भएका छन् । जसमध्ये हालसम्म ८३ अस्पतालबाट औषधी उपचारबापतको सुविधा भुक्तानी हुने छ ।


