

काठमाडौँ : नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण वैशाख २१ र २२ मा हुने भएको छ ।
सञ्चारकर्मीहरूको समूह त्रिकाल प्रोडक्सनको आयोजनामा ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने नारासहित स्वास्थ्य सम्मेलन हुन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा हुने सम्मेलनले राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न बहुपक्षीय सामूहिक कार्यको महत्त्वलाई उजागर गर्ने लक्ष्य लिएको छ ।
सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार गर्नेछ ।
सम्मेलनबाट प्राप्त सुझावको प्रतिवेदन तयार गरी सरोकारवाला निकायहरूलाई पेस गरिनेछ । साथै स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिनेछ । नेपाल स्वास्थ्य सम्मेलनको पहिलो सँस्करण २०७७ साल चैत्रमा काठमाडौँमा सम्पन्न भएको थियो ।


