

काठमाडौं – मनसुन सुरु भएसँगै डेङ्गी संक्रमणको जोखिम बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले रोग नियन्त्रणका लागि १ हजार ६५० जना तालिमप्राप्त जनशक्ति परिचालन गर्ने भएको छ। महानगरको स्वास्थ्य विभागले असार महिनाभित्रै सबै वडामा ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने तयारी गरेको हो।
यसका लागि स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख तथा स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ। तालिमपछि प्रत्येक वडामा केन्द्रका इञ्चार्ज र स्वास्थ्यकर्मीले थप ५० जनालाई प्रशिक्षण दिनेछन्।
महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय क्लब, टोल सुधार समिति, आमा समूह तथा अन्य सामुदायिक संघसंस्थाका प्रतिनिधिलाई तालिमको लक्षित समूह बनाइएको छ। तालिम पूरा गरेपछि उनीहरूलाई वडाका विभिन्न क्षेत्रमा परिचालन गरी डेङ्गी सार्ने एडिस जातको लामखुट्टेका लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ।
महानगरले राष्ट्रिय डेङ्गी रोकथाम तथा नियन्त्रण रणनीतिअनुसार संक्रमण र मृत्यु दर घटाउने लक्ष्य राखेको जनाएको छ। यसअन्तर्गत निगरानी प्रणाली सुदृढीकरण, कीट नियन्त्रण, जोखिम सञ्चार, सामुदायिक सहभागिता, स्वास्थ्य प्रणालीको पूर्वतयारी, बहुक्षेत्रीय समन्वय, कार्यक्रम व्यवस्थापन तथा अनुसन्धानलाई प्राथमिकतामा राखिएको छ।
क्षमता विकास कार्यक्रममा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य कार्यालय काठमाडौंका अधिकारीहरूले डेङ्गी नियन्त्रणका रणनीति, जोखिम तथा पूर्वतयारीबारे प्रस्तुतीकरण गरेका थिए।
स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले मनसुन सुरु भएसँगै साउनदेखि डेङ्गी संक्रमण क्रमशः बढ्दै जाने र कार्तिक–मंसिरमा उच्च बिन्दुमा पुग्ने भएकाले अहिलेबाटै सक्रिय भएर काम गर्नुपर्ने बताए।
उनले समयमै रोकथामका उपाय अपनाउन सके विगत वर्षको तुलनामा यस वर्ष संक्रमणदर घटाउन सकिने विश्वास व्यक्त गर्दै डेङ्गी नियन्त्रणमा प्रत्येक व्यक्ति र परिवारको भूमिका महत्वपूर्ण हुने बताए।
महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले समुदायसम्म डेङ्गी रोकथामसम्बन्धी सन्देश पुर्याउने, नागरिकलाई अभियानमा सहभागी गराउने तथा घर–घरमै नियन्त्रणका गतिविधि विस्तार गर्ने योजना रहेको जानकारी दिए। विगतका अनुभव र सिकाइलाई उपयोग गर्दै यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाइने उनको भनाइ छ।
स्वास्थ्य विभागका अनुसार डेङ्गी फैलाउने एडिस जातको लामखुट्टे सफा र जमेको पानीमा बढी प्रजनन गर्छ। त्यसैले घरभित्र र बाहिर रहेका पानी राख्ने भाँडा, गमला, पुराना टायर, ड्रम, कौसी, बरण्डा, सडक तथा सडकपेटीका खाल्टाखुल्टीलगायत स्थानमा पानी जम्न नदिन आग्रह गरिएको छ। वर्षायाममा जम्मा हुने यस्ता पानी लामखुट्टेको प्रजननस्थल बन्ने भएकाले नियमित रूपमा सफा गर्न विभागले अनुरोध गरेको छ।
डेङ्गी संक्रमित लामखुट्टेले टोकेपछि सामान्यतया ४ देखि ७ दिनभित्र उच्च ज्वरो, आँखाको गेडी दुख्ने, हाडजोर्नी र मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, अत्यधिक कमजोरी महसुस हुने, भोक कम लाग्ने तथा ज्वरो आएको ३ देखि ५ दिनपछि शरीरमा रातो बिमिरा देखिने लक्षण देखा पर्न सक्छन्। यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन चिकित्सकले सुझाव दिएका छन्।


