

काठमाडौं : हिँडेरै अस्पताल पुगेकी एक युवतीको मृत्यु भएपछि सुर्खेतकाे प्रदेश अस्पतालमा तनाव उत्पन्न भएको छ ।
दैलेखको आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामी पेट दुखेको भन्दै उपचारका लागि सुर्खेत पुगेकी थिइन् ।उनी सामान्य चेकजाँचका लागि वीरेन्द्रनगरको एक निजी अस्पतालमा पुगेकी थिइन् । त्यहाँ उनकाे पाठेघरमा केही समस्या देखियो । त्यसपछि आफैं हिँडेर उनी शकै उत्कृष्ट मानिएको प्रदेश अस्पताल गइन् । बिहीबार बिहानै उनी अस्पताल भर्ना भइन् ।अस्पतालमा चेकजाँच गराउँदा ४ महिनाअघि प्रसूति गराउँदा पाठेघरमा केही सालनाल रहेको कुरा चिकित्सकले जानकारी दिए । अप्रेसन गरेर पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई मृत घोषणा गरिदिएको परिवारका सदस्यले बताएका छन् ।अस्पतालले दिउँसो तीन बजेतिर मृत घोषणा गरेको थियो। परिवारलाई भेट्नै नदिई एक्कासि रगत अभाव भयो भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरिए आफन्तको भनाइ छ । डाक्टरहरूको लापरबाहीका कारण उनको मृत्यु भएको भन्दै आफन्तहरूले आन्दोलन गरिरहेका छन् ।शुक्रबार बिहान १० बजेदेखि चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाइने तयारी आफन्तहरूले गरेका छन् । प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।


