

कैलाली : टेन्डर आह्वान गरेर खरिद गरिएको औषधी आधा भन्दापनि कम मुल्यमा दिन थालिएपछि धनगढी उपमहानगरपालिकाले त्यो औषधीको गुणस्तर जाँच गरेर मात्रै विरामीहरुलाई वितरण गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिकाले चैत १ गते टेन्डरमार्फत ६१ प्रतिसत कम मूल्य हालेर आपूर्ती गरिएका २६ प्रकारका औषधीको नमूना संकलन गरेर राष्ट्रिय औषधी प्रयोगशालामा पठाएको छ । त्यसको एक हप्ताभित्र गुणस्तर जाँचको रिपोर्ट आउनेछ ।
‘कोटेशनबाट औषधी किन्दा महंगो पर्न थालेपछि हामीले २०७९ साल देखि नै टेन्डर आह्वान गरेर औषधी गरिद गर्न थाल्यौं । तर त्यसमा ६१ प्रतिसत कम मूल्यमा औषधीको टेन्डर पर्न थाल्यो । अनी उपमहानगरले त्यसको गुणस्तर जाँच गर्ने निर्णय गरेको हो’ मेयर गोपाल हमालले भने । उनले बजारको दरभन्दा ६१ प्रतिसत सस्तोमा दिएको औषधीको गुणस्तर जाँच गरेर मात्रै खरिद गरिएको औषधी विरामीलाई वितरण गर्ने बताए ।
धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको सुरूमा आह्वान गरेको औषधी खरिदको टेन्डरमा सप्लायर्सले ५८ प्रतिशत घटीमा टेन्डर हालेका थिए । उपमहानगरपालिकाले आर्थिक वर्षको सुरूमा ३८ लाखको औषधी खरिद गर्न खोलेको टेण्डरमा १६ लाखमा टेन्डर परेको थियो ।


