

सुर्खेत: सुर्खेत जिल्लामा क्यान्सर रोगका बिरामी बर्सेनि थपिँदै गएका छन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्न थालेका छन् ।
त्यसमध्ये पनि क्यान्सर रोगका बिरामीको सङ्ख्या धेरै रहेको कार्यालयका सूचना अधिकारी घनश्याम बुढाले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०/८१ मा सुर्खेत जिल्लामा ११० जना क्यान्सर रोगका बिरामी फेला परेका छन् । यो सङ्ख्या उपचारमा सहुलियत लिन आएका बिरामीको हो । यो वर्ष जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतबाट ५० जनाले प्रतिव्यक्ति २० हजारका दरले सहुलियत यातायात खर्च लिएका छन् ।
अन्य ६० जनाले सहुलियत लिनका लागि निवेदन पेस गरेको कार्यालयले जनाएको छ । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले समेत क्यान्सरका बिरामीलाई उपचार सहुलियत दिने गरेको छ । विपन्न नागरिक यातायात सहायता कार्यक्रममार्फत रकम दिने गरिएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले यो वर्ष १३० जना क्यान्सरका बिरामीलाई सहायता रकम दिइएको जानकारी दिए ।


