कैलाली : सेती प्रादेशिक अस्पताल धनगढीमा रेबिजको सुई लगाएकी एक महिलाको मृत्यु भएको छ ।
बिरालोले टोकेपछि रेबिजको सुई लगाउन सेती प्रादेशिक अस्पताल गएकी धनगढीमा बस्दै आएकी ४० वर्षीया सीता डंगौराको मृत्यु भएको हो । मृतकको आफन्त मनीषा चौधरीका अनुसार सिताले बिरालोले नङमा कोपरे पछि चैत १५ गते पहिलो र १८ गते दोस्रो रेबिज विरुद्धको सुई लगाएकी थिइन् ।
दोस्रो सुई लगाउने बित्तिकै अप्ठ्यारो भएपछि उनलाई भेन्टिलेटरमा राखिसकेको थियो । अस्पतालले आज उनलाई मृत घोषणा गरी शव लैजान भनेपछि मृतकका आफन्तले डाक्टरको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै शव बुझ्न मानेका छैनन् ।
उता सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले बिरालो, कुकुरसहित जङ्गली जनावरले टोकेपछि रेबिजविरुद्धको सुई लगाउनुपर्ने निर्देशिका भएकाे तर विरलैमा यो समस्या देखिने बताएका छन् । यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको कमरको दाबी छ ।