

सङ्खुवासभा : विगत दुई वर्षदेखि मोतीबिन्दुका कारण दृष्टिविहीन ६० वर्षीय विष्णुबहादुर तामाङ खाँदबारीमा राखिएको शिविरमा सफल शल्यक्रियापछि पूर्ण रूपमा आँखा देख्न सक्ने भई भएर घर फर्किएका छन् । भोजपुर घर भएका बोली नआउने उहाँ सफल शल्यक्रियापछि निकै खुसी थिए । यस पटक खाँदबारीमा आयोजित दुईदिने शिविरबाट ४० मोतीबिन्दुसहित ४४ जनाको आँखाको सफल शल्यक्रिया गरियो ।
हिमाली जिल्ला सङ्खुवासभामा उपचार अभावका कारण अन्धो भएर बस्न नपरोस् भनी नेपाल नेत्रज्योति सङ्घले अन्धोपना हटाउने अभियान सञ्चालन गरिरहेको छ । नेपाल नेत्रज्योति सङ्घ सङ्खुवासभाद्वारा सञ्चालन गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रमा यो वर्ष ४१० जनाको सफल शल्यक्रिया भइसकेको छ । त्यस्तै जिल्लाभरिका २५ हजार जनाको आँखा परीक्षण गरी १३ हजारको उपचार गरिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिनुभयो । त्यस्तै ३५० भन्दा बढीमा दृष्टिदोष देखिएकाले निःशुल्क चस्मा वितरण गरिएको बरालले जानकारी दिए ।
सङ्खुवासभामा हरेक वर्ष चार सयदेखि पाँच सय जनाको शल्यक्रिया भइरहेको नेत्रज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष युवराज शाक्यले जानकारी दिए । सबै स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापनाको काम भइरहेको अध्यक्ष शाक्यले जानकारी दिए । हाल खाँदबारी, सिलिचोङ, मकालु र चैनपुरमा उपचार केन्द्र स्थापना गरी सेवा प्रवाह भइरहेको र केही समयभित्रै धर्मदेवी नगरपालिका र सभापोखरी गाउँपालिकामा केन्द्र सञ्चालन गरिने अध्यक्ष शाक्यले जानकारी दिए । स्थानीय तहहरूमा उपचार केन्द्र स्थापना गर्दा आवश्यक उपकरण र दुई स्वास्थ्यकर्मीमध्ये एक जना नेत्रज्योति सङ्घले र अर्को एक जना सम्बन्धित स्थानीय तहले व्यवस्था गर्ने नीति लिइएको उनले जानकारी दिए ।
नेत्रज्योति सङ्घले गरेको सर्वेक्षण अनुसार सङ्खुवासभामा दुई हजार आठ सय जनामा मोतीबिन्दुको समस्या रहेको सङ्घले जनाएको छ । तीमध्ये एक हजार पाँच सय जना तत्कालै शल्यक्रिया गर्नुपर्ने अवस्थामा रहेको उनले बताए। गाउँ गाउँमा गएर गरिने स्क्रिनिङ र उपचार केन्द्रबाट मोतीबिन्दु पत्ता लागेकाहरूलाई खाँदबारीमा बोलाई निःशुल्क शल्यक्रिया गरिँदै आएको छ ।
विसं २०३५ अघिसम्म आँखाको उपचारका लागि नेपालबाहिर जानुपर्ने बाध्यता रहेको तर हाल भने छिमेकी देशका नागरिकसमेत उपचारका लागि नेपाल आउने नेत्रज्योति सङ्घ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदासले जानकारी दिए।
धनकुटाका नेत्र चिकित्सक रामप्रसाद पोखरेलको सक्रियतामा २०३५ सालमा नेत्रज्योति सङ्घ स्थापना भएपछि भने नेपालमै आँखा उपचार गराउन सम्भव भएको अध्यक्ष उदासको भनाइ छ ।


