डडेल्धुरा : डडेल्धुरामा क्षयरोगको संक्रमणका कारण २५ जनाको मृत्यु भएको छ । जिल्लामा पछिल्ला पाँच वर्षमा क्षयरोगबाट २५ जनाको मृत्यु भएको हो ।
आर्थिक वर्ष २०७६/७७ मा ३ जना, आव ०७७/७८ मा ६, आव ०७८/७९ मा ३, आव ०७९/८० मा ७ र चालु आर्थिक वर्ष ०८०/८१ को फागुनसम्म ६ जना संक्रमतिकोको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षमा नवदुर्गा गाउँपालिकाका ४ र भागेश्वर गाउँपालिकाका २ जना क्षयरोग संक्रमतिको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिए ।
क्षयरोगको उपचारका लागि डडेल्धुरा अस्पतालमा ‘डिआर’ केन्द्र रहेको भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टले बताए । चालु आर्थिक वर्षको फागुनसम्म डडेल्धुरामा ८९ जनामा क्षयरोग संक्रमण देखिएको छ । जसमध्ये अमरगढी नगरपालिकामा २१, परशुराम नगरपालिकामा १९, नवदुर्गा र भागेश्वर गाउँपालिकामा ११/११ तथा आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिमा ९/९ जना संक्रमित भेटिएका छन् । यस वर्ष डडेल्धुरामा संक्रमितको पत्ता लगाउनुपर्ने संख्या ३ सय २४ थियो ।