

काठमाडौं : सरकारले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो ।
पहिलो मात्रा खोप लगाएका नौ हजार नौ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए। उनका अनुसार यसअघि पहिलो मात्रा खोप लगाइएका अस्पतालमा नै दोस्रो खोप लगाउन किशोरी जानुपर्नेछ ।
विराटनगरस्थित कोशी अस्पताल, वीरगन्जस्थित नारायणी अस्पताल, काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगन्जस्थित भेरी अस्पताल, सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल र डडेलधुरास्थित डडेल्धुरा अस्पतालबाट सो खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।


