

काठमाडौं : नवनियुक्त स्वास्थ्य मन्त्री उपेन्द्र यादव पनि मृत्युपश्चात डढेर जाने अंगलाई दान गर्न आग्रह गरेका छन् । विश्व मिर्गौला दिवसको अवसरमा बोल्दै उनले खेर जाने अंगलाई दान गर्दा अरुको जीवन जोगिने बताएका हुन् ।
‘अघिल्लोपटक स्वास्थ्यमन्त्री हुँदा मैलै सबै अंग दान गरिसके । यहाँहरुले पनि आफ्ना अंग दान गरेर अरुलाई नयाँ जीवन दिनसक्नु हुन्छ’ उनले भने ।
विश्व मिर्गौला दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसहितका संघसंस्थाले विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेका थिए । दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल, पदयात्रा र अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।
यो वर्ष ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइएको हो ।