काठमाडौं : वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्ले मृर्गौला पीडित बिरामीमा मात्रै सबैको ध्यान गएकाले यो रोगको रोकथाम हुन नसकेको बताएका छन् । उनले मृर्गौला बिग्रिसकेपछि मात्रै उपचार खोज्नुले यो रोगको रोकथाम हुन नसक्ने बताए ।
‘नेपालमा करिब ३ करोड जनसंख्या छ । त्यसमध्ये ३० लाखमा मृर्गौलासम्बन्धी केही न केही समस्या छ । ३ लाखको मृर्गौला बिग्रिन थालेको छ । यस्तै ३० हजारको नराम्रोसँग बिग्रिएको छ भने ३ हजार व्यक्तिलाई अन्तिम अवस्थामा आएर डायलासिस र प्रत्यारोपण चाहिन्छ’ उनले भने, ‘हाम्रो ध्यान त्यो ३० हजारमा गएको छ । तर ३ करोडमा गएको छैन ।’
उनका अनुसार उच्च रक्तचाप, मधुमेहका, खानपान तथा स्वास्थ्यप्रति गरिने व्यवास्ताका कारण मृर्गौलाका बिरामी बढ्दै गइरहेका छन् । यी कुरामा सर्तक भए धेरै मात्रामा मृर्गौला सम्बन्धी रोग रोकथाम हुने उनले दाबी गरे ।
यस्तै आम नागरिकले मृर्गौला लगायतका अन्य अंगदान गर्न तयार हुनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । विभिन्न दुर्घटनामा परेर हजारौं अंग खेर गइरहेको उल्लेख गर्दै उनले मृतकका आफन्त अंग दान गर्न तयार भए धेरैले नयाँ जीवन पाउने बताए ।