काठमाडौं : भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालले एक वर्षमा २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको छ । अस्पतालले मङ्गलबार एक कार्यक्रम गर्दै सेवा सुरु गरेदेखि २३ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिएको हो ।
अस्पतालले २०७९ माघबाट मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको नेफ्रोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार यस अवधिमा २३ जना बिरामीले मिर्गौला प्रत्यारोपण गरिसकेको छ । १५० प्रत्यारोपणका आएकामध्ये २३ जनाको सफल प्रत्यारोपण गरिएको छ भने नौ जना प्रत्यारोपणका लागि पालो कुरिरहेका छन् ।
१७ वर्षको युवा देखि ६५ वर्षका वृद्धको सफल रूपमा प्रत्यारोपण गरिएको ड.पौडेलको भनाई छ । मिर्गौला दान गर्नेमा १८ वर्षको दातादेखि ६५ वर्षसम्मका रहेका छन् । डा.पौडेलका अनुसार मिर्गौला दान गर्नेमा महिला बढी रहेका छन् । उनले भने, “दान गर्नेमा १६ जना महिला र सात जना पुरुष रहेका छन् । मिर्गौला ग्रहण गर्नेमा १६ जना पुरुष र सात जना महिला रहेका छन् ।”