काठमाडाैं : यति एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई हवाई टिकट नि:शुल्क दिने भएको छ ।
यतिले उपचारका लागि बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट प्रदान गर्ने भएकाे हाे ।
नेपालभरकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यति एयरलाइन्स र बिराट क्यान्सर इन्स्टिच्युटबीच फागुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो ।
एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए।
निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजातसहित बिराट क्यान्सर इन्स्टिट्युटमा सम्पर्क गर्नुपर्नेछ ।
अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले बताए । बिरामीहरूले डाक्टरको अप्वाइन्टमेन्ट लिदाँ टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नेछन् ।