विराटनगर : मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरीरको अङ्गहरूमा समस्या आएको मोरङ सुन्दरहरैचा-१० का एक जना बिरामीको केही दिन अगाडि नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा सफल शल्यक्रिया भएको छ । नोबेलको कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले बिरामीको पेरिकार्डियोक्टोमी नामक शल्यक्रिया गरेको हो ।
उनमा करिब चार पाँच महिना अगाडि देखि पेट फुल्लिने, सुन्निने समस्या देखा परेको र हिँडडुल गर्दा थकान हुने भए पछि विभिन्न स्थानमा उपचार गराउँदा ग्यास्ट्रिकको औषधी सुरु भएको थियो । तर समस्या समाधान नभए पछि उनी नोबेल शिक्षण अस्पताल आएका थिए । सुरुमा इण्डोस्कोपी गरिएको थियो तर चिकित्सकले उनलाई एक पटक मुटुरोग विभागमा गई जाँच गर्न सुझाएका थिए । मुटुरोग विभागमा जाँचको क्रममा उनको मुटुमा पानी जमिएको थाहा भयो ।
सिटिभिएस सर्जन डा. लोकेश यादवका अनुसार उनको मुटुलाई बाक्लो झिल्लीले ढाकेको कारण मुटुले राम्ररी काम गर्न नसकेको हुँदा शरीरमा समस्या देखा परेको थियो । यो समस्यालाई कन्स्ट्रीक्टिभ पेरिकार्डाइटिस भनिन्छ ।