चितवन : नेपाल फार्मेसी संघको आयोजना चितवनमा फर्मा एक्स्पो भित्र औषधी बारे ‘प्यानल डिस्कसन’ भएको छ ।
शुक्रवार साँझ चितवनमा आयोजित सो कार्यक्रममा औषधी उत्पादन, गुणस्तर, बिक्रीवितरण देखि बिरामीको उपचारसम्म जोडिएका समग्र विषयमा छलफल गरिएको संघका चितवन शाखा अध्यक्ष सुशील सिग्देलले जानकारी दिए ।
कार्यक्रममा उत्पादक, थोक वितरक र क्लिनिकल गरी ३ वटा प्यानलमा विभाजन गरेर छलफल गरिएको थियो । कार्यक्रममा औषधी र स्वास्थ्य क्षेत्रमा रहेका केही मुख्य नीतिगत समस्या, विषयगत समस्या, चुनौती र समाधानहरू बारे छलफल केन्द्रित भएको थियो ।

सबैको साझा पहलबाट औषधी उत्पादन, त्यसको गुणस्तर, विक्री वितरणमा र बिरामीसम्म पुर्याउदा देखा परेका समस्याहरूको समाधान गरी “गुणस्तरीय स्वास्थ्य सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्नुपर्ने” छलफलको निष्कर्ष थियो ।
कार्यक्रमका फार्मेसीमा असल अभ्यास कसरी गर्ने ? बिरामीको उपचारमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? असल फार्मेसी अभ्यासका उदाहरण, त्यसका फाइदाहरू, औषधी सम्बन्धी परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरू । अस्पताल र सामुदायिक फार्मेसीमा फर्मासिष्टको कस्तो भूमिका रहन्छ ? ‘एन्टिबायोटिक रेसिस्टेण्ट’ को समस्या र त्यसको नियन्त्रण उपाय । औषधी उत्पादक, थोक तथा खुद्रा वितरकले भोग्नु परेका विभिन्न समस्या बारे छलफल गरिएको थियो ।
जथाभावी तथा अनियमित रुपमा प्रयोग गरिएको एन्टिबायोटिकबाट उत्पन्न हुने शक्तिशाली ब्याक्टेरियालाई ‘सुपर बग’ भनिन्छ जसलाई पहिला प्रयोग गरिएको एन्टिबायोटिकबाट मार्न सकिन्न र यस्ता ब्याक्टेरियाले एन्टिबायोटिक पचाउन सक्ने शक्ति नै ‘एन्टिबायोटिक रेसिस्टेण्ट’ हो जसको कारणले औषधीको प्रभावकारिता कम हुने गर्दछ ।
नेपालमा औषधी उत्पादन भए पनि गुणस्तर, जनविश्वास, प्रभावकारिताजस्ता विषयहरूमा अझै पनि बेला–बेलामा प्रश्न उठ्ने गर्दछ । औषधी र औषधीजन्य वस्तुहरूको उत्पादन, प्रशोधन, भण्डारण र बिक्री–वितरणजस्ता जनस्वास्थ्यसँग जोडिएका विषयहरूमा औषधी व्यवस्था विभाग त्यसको सुनिश्चित गर्नुपर्ने । तर, आमसर्वसाधारणले यसको बलियो उपस्थिति कहिल्यै महसुस गर्न नपाएको कार्यक्रममा बोल्ने वक्ताहरूको आरोप छ । औषधी र औषधीजन्य वस्तुहरूको खरिद प्रक्रिया, उपलब्धता, पर्याप्तता एवं गुणस्तरमा राज्यले स्पष्ट मार्गनिर्देशन गर्नुपर्नेमा वक्ताहरूको माग छ ।
प्यानलमा उत्पादकको तर्फबाट सन्तोष बराल र प्रवन दाहाल । थोक वितरकको तर्फबाट युवराज भुसाल, विज्ञान पौडेल र भोला लामिछाने । त्यस्तै, क्लिनिकल तर्फबाट डा. गोविन्द कंडेल, डा. लोक बहादुर सेढाई, डा. महेन्द्र अग्रहरी, क्लिनिकल डा. विष्णु रेग्मी, फर्मासिस्ट रमेश पौडेल र ईन्द्रराज गैरे लगायतले बोलेका थिए ।
‘नवौँ फर्मा एक्स्पो’ को अवसरमा चितवन प्रदर्शनी केन्द्रमा भएको सो कार्यक्रममा विभिन्न पेसा–व्यवसायमा आबद्ध फर्मासिस्ट, सहायक फर्मासिस्ट (फार्मेसी सहायक) विभिन्न फार्मेसी कलेजमा अध्ययनरत विद्यार्थीहरु, नेपाल औषधि उत्पादक संघ (एपोन) का प्रतिनिधि, चिकित्सक, पत्रकार, बुद्धिजिवी, सर्वसाधारण लगायतको उल्लेखनीय उपस्थित रहेको थियो ।
कार्यक्रम संघका केन्द्रीय अध्यक्ष किरण ढकालको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाल फार्मेसी संघ फार्मेसी क्षेत्रको पेशागत हकहितको निम्ति निर्माण भएको साझा संस्था हो । संघले यसअघि पनि आफ्नो पेशागत हकहितको निम्ति तालिम एवम् विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
शुक्रवारदेखिनै ‘नवौँ फर्मा एक्स्पो’ सुरू
मेडिकल सिटीको रूपमा विकास हुँदै गरेको भरतपुरमा आजदेखि ‘नवौँ नेपाल फर्मा एक्स्पो’ सुरू भएको छ ।
नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजना एक्स्पो चितवन प्रदर्शनी केन्द्रमा सञ्चालनमा आएको हो ।
शुक्रवारदेखि सुरू भएको एक्स्पो यही फागुन २७ गतेसम्म ३ दिन सञ्चालन हुने छ ।
नेपालमा उत्पादित औषधिको उत्पादन प्रविधि, नेपालमा उत्पादित औषधिलाई अन्तर्राष्ट्रियकरण गर्ने उपाय तथा विदेशी प्रविधिको विकास जस्ता विषयमा प्रर्दशनी गरिने आयोजक नेपाल औषधि उत्पादक संघले जनाएको छ ।
एक्स्पोमा भारत, सिंगापुर बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत देशबाट प्रतिनिधिहरु आउँनेछन् । एक्स्पोमा १६० वटा स्टल राखिएका छन् ।
प्रत्येक दुई–दुई वर्षमा हुँदै आएको एक्स्पो यस वर्ष पनि मेडिकल सिटीको रुपमा विकास भएको भरतपुरमा गरिएको हो । काठमाडौँको भृकुटीमण्डपमा हुँदै आएको एक्स्पो सातौँ संस्करणदेखि ३ पटकसम्म लगातार चितवनमा हुँदै आएको छ ।