कैलाली : सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरिएको छ ।
केन्द्रमा कांग्रेस-माओवादीकाे गठबन्धन भंग भएर एमालेसहितकाे नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन् ।
बर्खास्त हुनेमा उद्योग पयर्टन वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गितादेवी माल रहेका छन् ।
मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेपनि नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई यथावत राखेका छन् ।
सुदूरपश्चिममा नाउपा र नेकपा(एस) काे समर्थन कायम भए मुख्यमन्त्रीलाई बहुमुत पुग्छ । साेही कारण मुख्यमन्त्रीले माओवादीबाट मन्त्री बनेकाहरूलाई बर्खास्त गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने, एउटा सिट रिक्त छ ।