धनगढी : सेती प्रादेशिक अस्पतालमा पहिलो पटक दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु भएको छ ।
प्रादेशिक अस्पतालमा पहिलो पटक मृगौलाको पत्थरीको दुरबिन विधिबाट शल्यक्रिया सेवा सुरु भएको हो । अस्पतालमा ल्याफ्स्कोप जडान भएपछि दुरबिन विधिबाट शल्यक्रियाको काम थालिएको युरोलोजिष्ट डाक्टर जोनस तिवारीले बताए। बिहिवार अछामकी सेतु साउँदको मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको छ। सेतीमा पहिलो पटक दुरबिन विधिबाट शल्यक्रिया सुरु गरिएको उनले बताए ।
सेती प्रादेशिक अस्पतालमा बिहिवार मात्र तीन जनाको दुरबिन विधिबाट शल्यक्रिया गरिएको छ । शरिर चिरेर गरिने शल्यक्रियाभन्दा दुरबिन विधिबाट गरिएको शल्यक्रिया आधुनिक मानिन्छ ।
दुरबिन विधिबाट गरिने शल्यक्रिया सुरक्षित समेत मानिन्छ । सबै उमेर समूहका व्यक्तिको दुरबिन विधिबाट मृगौलाको पत्थरी, पिसाब नलीको पत्थरी, पिसाब थैलिको पत्थरी, ग्रन्थी तथा मृगौला फाल्ने कामसमेत सेती अस्पतालमा सुरु भएको छ ।
यसअघि सेतीमा दुरबिन विधिबाट शल्यक्रियाको सेवा नभएपछि बिरामीहरुले नीजि अस्पताल धाउनुपर्ने बाध्यता थियो । अब सेतीबाटै यस्तो सेवा सुरु भएपछि बिरामीलाई सहज हुने अपेक्षा गरिएको छ ।