काठमाडौं : काठमाडौंको थापाथली परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु चोरी भएको छ । मास्क लगाएकी एक महिलाले प्रसूति गृहबाट शिशु लगेको सीसीटिभी फुटेजमा देखिएको छ ।
ती महिलाले काभ्रेकी एक महिलाले जन्मदिएको २६ दिनको शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको हो । प्रहरी अनुसन्धान अधिकृतहरुले फुटेजका आधारमा शिशुको खोजी थालेका छन् ।
शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीका अनुसार पीडित महिला ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको थियो ।
ती महिलाले पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका अपरिचित व्यक्तिलाई आफू रिपोर्ट लिएर आउने भन्दै बच्चा लिन दिएको र आफू रिपोर्ट लिएर फर्किँदा ती अपरिचित र बच्चा दुवै नभेटेपछि उजुरी दिन आएको प्रहरीलाई भनेकी छन् ।