बैतडी : बैतडीमा यही फागुन १६ देखी दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुने भएको छ । देशभर १३ गतेदेखी सञ्चालन हुने भएपनि बैतडीमा नियमीत खोपलाई असर पर्ने भएकाले १६ गतेबाट अभियान सुरु गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले बताए ।
‘पूर्ण खोपः सुरक्षित भविष्य’ भन्ने नारासहित जिल्लाव्यापी रुपमा यो अभियान सुरु हुन लागेकाे हाे। जिल्लाको पुर्चौडी तथा पाटन नगरपालिका, सिगास, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा यहि फागुन १६ देखि २१ गतेसम्म खोप अभियान संचालन हुने छ भने दशरथचन्द नगरपालिका मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सुर्नया गाउँपालिकामा यही फागुन १७ गतेदेखि २२ गतेसम्म खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख भट्टले जानकारी दिए ।
३ सय ६२ वटा खोपकेन्द्रमार्फत खोप लगाइने छ । खोप कार्यक्रममा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेवी र स्वयंसेव परिचालन गरिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । दादुरा- रुबेला खोपमा भने नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिका मात्र सहभागी हुनेछन् ।