काठमाडौं : काठमाडौं महानगरपालिकाले निःशुल्क उपचार सेवाको लागि ४१ वटा अस्पताल र ३२३ शय्या उपलब्ध गराएको छ । महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्चालमार्फत सो जानकारी गराएका हुन् ।
यो व्यवस्था कार्यान्वयन गराउन ‘काठमाडौं महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८०’ स्वीकृत भई महानगर क्षेत्र भित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पतालहरुलाई गत फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न पत्राचार गरिसकिएको उनले जानकारी गराए ।
महानगरले कोही नभएका र केही नभएकाले न औषधि किन्न सक्ने, न कुनै शुल्क तिर्न सक्ने व्यक्तिको सबै उपचार र त्यसमा लाग्ने खर्च निःशुल्क हुनुपर्ने भन्दै यो प्रणाली सुरु गरेको हो ।
महानगरले लक्षित वर्ग (विपन्न, असहाय र वेवारिसे) को निःशुल्क उपचारका लागि कार्यान्वयनमा ल्याएको अनलाइन प्रणालीमा आवद्ध भएका ४१ अस्पताल बाहेक अन्य अस्पतालसँग पनि सम्पर्क र प्रणाली सञ्चालनका लागि पहल भइरहेको जनाएको छ ।
बालेनका अनुसार निःशुल्क उपचार पद्धतिलाई प्रणालीमा आधारित पारदर्शी बनाउन (फ्रीहेल्थ डट काठमाडौं डट जीओभी डट एनपी) वेभ ठेगानामा प्रणाली उपलब्ध छ । यो प्रणालीमा अस्पतालहरुलाई आवद्ध गराउन युजर नेम र पासवर्ड दिइएको छ । यो प्रणालीमा यसमा कुन अस्पतालमा कुन सेवा छ । वेड संख्या कति हो । कति वडा वेडमा बिरामीले उपचार गराइरहनु भएको छ । कति वटा खाली छन्, हेर्न सकिन्छ ।