स्याङ्जा : पुतलीबजार नगरपालिका र सेभ द हर्टको आयोजना पुतलीबजारमा आयोजित २ दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरमा आएकामध्ये ४५ जनाको निःशुल्क उपचार हुने भएको छ । शिविरमा मनमोहन कार्डियो थेरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर सहिद गंगालाल र नेपाल कार्डियो डायबेटिज एन्ड थाइराईड सेन्टरको प्राविधिक सहयोग तथा द हर्ट अफ चिल्ड्रेनको सपोर्ट रहेको छ ।
वर्षौंदेखि मुटुको समस्या झेल्दै आएका नगरबासीलाई लक्षित गर्दै विशेषज्ञसहितका ख्यातिप्राप्त प्राध्यापक डा.सहितको टिमसँग सहकार्य गर्दै निःशुल्क उपचार उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए । उनले भने, ‘नगरबासीको स्वास्थ्यको ध्यान दिँदै आगामी दिनमा पनि यस्ता उपकारी सेवालाई निरन्तरता दिनेछौं ।’
शिविरमा मुटुरोगसम्बन्धी निःशुल्क परामर्श, इको कार्डियोग्राफी, ईसीजीका साथै निःशुल्क औषधिसमेत उपलब्ध गराइएको छ । शिविरमा ३ वटा इको मेसिन र २ वटा ईसीजी मेसिनद्वारा परीक्षण गरिएको थियो ।