काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवा सुरु भएको छ । वरिष्ट मुटु रोग विशेषज्ञ डा. अर्जुन बुढाथोकीको नेतृत्वमा बिहीवार क्याथ ल्याबअन्तर्गतको एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकएज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको हो ।
‘यो अस्पताल लुम्बिनी प्रदेशको धरोहर हो । हामीले क्याथ ल्याबमा पहिलो पाइला चालेका छौं । निकट भविष्यमा नै अन्य सेवाहरू पनि शुरु गर्नेछौं । एनजीओप्लास्टी (मुटुको धमनीमा जाली हाल्ने काम), पेसमेकर (मुटुको चाल कम हुँदा हालिने मेसिन सहितको ब्याट्री)को सेवा पनि शुरु गर्नेछौं,’ डा. बुढाथोकीले भने, ‘यी सबैखाले सेवा शुरु भएपछि यस क्षेत्रका बिरामीलाई काठमाडौं जानुपर्ने बाध्यात्मक परिस्थिति अन्त्य हुनेछ ।’
क्याथ ल्याब सञ्चालन सामूहिक कर्मबाटै सफल भएको उनले बताए । ।