काठमाडौं : काठमाडौं महानगरपालिकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कान्ति बाल अस्पतालको फोहोर नउठाउने भएको छ।
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो ।
हानीकारक फोहोर अस्पताल बाहिर आउने खतरा देखिकोले अस्पतालको फोहोर संकलन र ढुवानीमा रोक लगाउनुपर्ने अवस्था आएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले बताए ।
अस्पतालले हानीकारक फोहोर निर्मलीकरण गर्नका लागि उपकरण जडान गरेको छ । यसको प्रभावकारी उपयोगका लागि स्रोतबाट वर्गीकरण प्रभावकारी बनाउनु पर्ने टोलीले सुझाव दिएको छ ।