बागलुङ : गण्डकी प्रदेश सरकारले क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित बिरामीहरूलाई राहत रकम दिने भएको छ। बागलुङको धार्मिक पर्यटकीयस्थल सर्वसिद्धिधाम पञ्चकोटमा सोमबार बसेको गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले प्रदेशभित्रका ७० जना क्यान्सर र ब्रेन ट्युमर रोगबाट पीडित बिरामीहरूलाई आर्थिक सहायता रकम उपलब्ध गराउने निर्णय गरेको हो।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै गण्डकी प्रदेशकी ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले क्यान्सर र ब्रेन रोगबाट पीडित बिरामीहरूलाई आर्थिक सहायता उपलब्ध गराउनका लागि उक्त निर्णय गरिएको बताइन्।
उनले प्रदेश निजामती सेवा पुरस्कारका लागि सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वस्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यमा नेपाल सरकारका पूर्व सहसचिव विरेन्द्रबहादुर हमाललाई नियुक्त गरिएको बताइन्। उनले १० सदस्य समितिमा दुई जनालाई सोमबार निर्णय गरिएको जानकारी दिइन्।