चितवन : चितवनस्थित भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेललाई ‘सारस्वत रत्न पुरस्कार-२०८०’ प्रदान गरिएको छ ।
रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने सारस्वत रत्न पुरस्कार-२०८०´ यो वर्ष डाक्टर पौडेलद्वारा लिखित तेस्रो कृति
लय छुटेको समय´लाई प्रदान गरिएको हो ।
शनिबार एक कार्यक्रमबिच डाक्टर पौडेललाई रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले संयुक्तरूपमा दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । सो समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए ।
प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार दिइने योजना अनुसार कृति आह्वान गरेको थियो । निर्णायक समितिले प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई गत पुस महिनामा पुरस्कृत गर्ने निर्णय गरेको थियो । सो पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र छ ।
डा. पौडेलको तेस्रो कृति ‘लय छुटेको समय’ नामक पुस्तकको नवलपरासीको गैँडाकोटस्थित नारायणी रिसोर्टमा एक कार्यक्रमका बीच सो पुस्तक विमोचन गरिएको थियो ।
लेखक डा. पौडेलका अनुसार ‘लय छुटेको समय’ मा दुई खण्डका निबन्ध संग्रहहरु रहेका छन् ।
पहिलो खण्ड
उनका अनुसार यसको पहिलो खण्डमा उपचारको उपक्रममा २२ वटा शिर्षक छन् । जसमा रोगका जरा कहाँसम्म, अधबैँसेको प्रेम, असजिला अस्पतालहरू, उपचारमा विभेदैविभेद, कोभिड-१९ को समाजशास्त्र, नसाभित्र नसा, उपचारमा लोभको मात्रा, रोगको उपचार गरौँ कि गरिबीको, गिजोलिएको यौनजीवन, सिगरेट लभ, मृत्यु बेहोरेका बिरामी, स्पाइनल इन्जुरीसँग, पर्वत जिल्लामा काम गर्दा, रूप नै बैरी, सपनाका डोबहरू, पटकै-पटक चोटपटक, सङ्क्रमणका सकसहरू, बिरामी र डाक्टरका कथा, स्वास्थ्यमा समाजवाद, कोरोनामा उसको मृत्यु, शवले पनि सास्ती पायो र यसरी बचौँ कोभिङ-१९ बाट जस्ता शिर्षकहरू रहेका छन् ।
उनका अनुसार पहिलो खण्डमा मेडिकल सोसोलोजी अर्थात अस्पताल र मानिसहरुको मनोविज्ञान तथा भावनासँग सम्बन्धित विषयबस्तु समेटिएको छ ।
दोस्रो खण्ड
डा. पौडेलको ‘लय छुटेको समय’ को दोस्रो खण्डमा कोरोना सुरु भएदेखि कोरोनाको दोस्रो कहरसम्मका घटना विवरण समेटिएको ‘लकडाउन डायरी’ रहेको छ । यस खण्डमा ३५ वटा शिषर्क छन् । जसमा लकडाउन घोषणाले मख्ख, कोरोनाले बदलेको दैनिकी, कोरोनासँग नयाँ वर्ष, वीरगञ्जमा कोरोना, लकडाउनको अन्तिमतिर, खुकुलो लकडाउन र बाढी-पहिरो, निषेधाज्ञा सुरू, निषेधाज्ञाको दोस्रो दिन, आफैँ क्वारेन्टिनमा, दिनमै ५० जना पोजिटिभ, निषेध आदेशको लहर, भर्ना लिनै नमान्ने, साँच्चै डर लाग्न थाल्यो, रोगको चर्को रूप, विषाक्त समाचारहरू, डराउँदै उपचार, सुस्त र त्रस्त दिनहरू, असोज लाग्यो, आईसियू अभाव, कोभिड-१९ भ्याक्सिनको विकासक्रम, फटाफट पोजिटिभ, लज्जास्पद, दसैँ आयो फुस्सा, कोरोनो र म्यारोडोना, निरन्तरको कहर, माघे सङ्क्रान्ति, नयाँ कोरोना, खोप र कोरोना अपडेट, खोप लगाइयो, अस्पतालको वार्षिकोत्सव, नयाँ कोरोनासँग नयाँ वर्ष, नेपालगञ्जमा कोरोना, घर भित्रियो महामारी र मलाई माफ गर जस्ता शिर्षकहरू रहेका छन् ।
यी विषयवस्तुहरु यथार्थपरक र उत्कृष्ट प्रस्तुतिका साथ सिलसिला मिलाएर प्रस्तुत गरिएको छ ।
सानैदेखि साहित्यमा निकै रुची
डा. पौडेलले सानैदेखि साहित्यमा निकै रुची राख्दथे । स्कुल पढ्दादेखि नै कविता, गजल, कथा तथा निबन्ध लेखनमा उनको निकै रुची थियो । अहिले पनि उनले चिकित्सा पेशासँगै साहित्यलाई समेत सँगसँगै लगेका छन् ।
उनले यसअघि २ वटा पुस्तक लेखिसकेका छन् । जसमा ‘खुसीहरुको वनबास’ नामक कविता संग्रह र ‘कम्मरीदेखि कोभिड कहर’ नामक निबन्ध संग्रह रहेका छन् । निबन्धशैलीमा लेखिएको ‘लय छुटेको समय’ उनको तेस्रो कृति हो । यो पुस्तक बजारमा उपलब्ध भइसकेको छ ।
बहुउपयोगी पुस्तक ‘कम्मरीदेखि कोभिड कहर’
यसअघिनै प्रकाशित डा. पौडेलको स्वास्थ्य सम्बन्धी बहुउपयोगी पुस्तक हो ‘कम्मरीदेखि कोभिड कहर’ । कुल ३१ वटा लेख रहेको सो पुस्तकमा २१ वटा हाडजोर्नीसँग सम्बन्धित विषयवस्तु रहेको उनले जानकारी दिए । अन्य १० वटा लेख भने अन्य समसामयिक स्वास्थ्यसम्बन्धी रहेको छ । त्यसमध्ये पनि अन्तिमको लेख भने कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी रहेको छ । निबन्धात्मक शैलीमा लेखिएको सो पुस्तक सर्वसाधारणका लागि हाडजोर्नी तथा नसासम्बन्धी जानकारीका लागि उपयोगी हुने उनको भनाइ छ । हाडजोर्नी तथा नसा सम्बन्धी समस्या भएका सर्वसाधारणले सरल भाषाको सो पुस्तकमार्फत कतिपय उपचार घरमै बसेर गर्न सकिने उनको विश्वास छ ।
प्रा.डा. कृष्णप्रसाद पौडेलको हुन् ?
चितवनस्थित भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेल पेसाले चिकित्सक हुन् । अर्थोपेडिक विषयका प्राध्यापक उनी समाजशास्त्रमा पनि स्नातकोत्तर छन् । चितवनमा प्रा.डा. कृष्ण चिकित्सा क्षेत्रको निकै चिरपरिचित एवम् चर्चित नाम हो । उनलाई नचिन्ने सायदै कम होलान । उनी निकै जुझारू एवम् केही गरेर देखाउनुपर्छ भन्ने चिकित्सक मध्यमा पर्छन् ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनपश्चात् देशका विभिन्न अस्पतालहरूका साथै विदेशका अस्पतालहरूमा समेत उनले काम गरिसकेका छन् । देश र विदेशमा अध्ययन, तालिम र काम गर्दा बिरामीलाई गर्नुपर्ने उपचारका साथै बिरामीले बोकेर ल्याएको समाज र परिवेशमा चासो राख्ने बानीले उनको मेडिकल सोसियोलोजीमा चाख बढेको हो ।
‘लय छुटेको समय’ किताबमा एउटा चिकित्सकको आँखाले बिरामी र समुदायको दृष्टिले स्वास्थ्यकर्मी र अस्पताललाई हेर्दा निस्केका कुरालाई केलाइएको छ साथै कोभिड महामारीका वस्तुस्थितिहरूको अनुभव वर्णन गरिएको छ । यसमा निबन्धशैलीमा लेखिएका बिरामी र डाक्टरका कथाहरू छन् ।
यसअघि प्रा.डा. पौडेलले नेपाल चिकित्सक संघ चितवनको अध्यक्षको कार्यभार समेत कुशलता पूर्वक सम्हाल्ली सकेका छन् ।