दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका कामु निर्देशक डा रमेश कँडेलले ओपिडीबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन् ।
युरोलोजी सेवा जिल्लामा नहुँदा बिरामीहरु सामान्यदेखि बिशिस्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा उक्त सेवा बिस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ। युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मिले सो सेवा दिइरहेको कामु निर्देशक डा कडेलले बताए ।
युरोलोजी सेवाअन्तर्गत पिसाबसम्बन्धी सबै, प्रोष्टेड र मिर्गौलामा भएको पत्थरी, पिसाबको नली, पित्तथैलीको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्निएको, पिसाब पोल्ने, चुहिने लगायतका विभिन्न सेवा बिरामीले प्राप्त गर्नसक्ने प्रतिष्ठानका युरोलोजीष्ट डा प्रबोध रेग्मीले बताए ।
अस्पतालमा युरोलोजी सेवा लिनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको उनले बताए । प्रतिष्ठानका सुचना अधिकरी निशानदाजु भट्टराईले युरोलोजी सेवा अन्तरगत साना तथा ठुला गरेर हालसम्म झण्डै २ सय जना बिरामीको सफल अप्रेसन भएको जानकारी दिए । जसअनुसार ९८ जना बिरामीको गम्भिर प्रकृतिको अप्रेसन भएको छ भने १ सय १ वटा सामान्य अप्रेसन गरिएको छ ।
अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ समेत रहेका डा कँडेलका अनुसार युरोलोजी सेवा अहिले धेरै नै प्रभाबकारी भएको जनाउँदै स्थानीयस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न पाउँदा खुसी ब्यक्त गरेको बताए । दाङका डा रेग्मी यसअघि वीर अस्पताल काठमाडौं लामो समय युरोलोजी सेवा दिएका थिए । उनी लामो समयदेखि युरोलोजी सेवा दिएको अनुभवी चिकित्सक हुन् ।