काठमाडाैं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोग नेपालमा चुनौती बनिरहेको बताएका छन् । बिहीबार ललितपुरमा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाई उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा बालबालिकादेखि किशोरकिशोरीहरुमा मानसिक रोगको समस्या बढ्दै गइरहेको बताए । मन्त्री बस्नेतले मानसिक रोगको उपचार केन्द्र सातै प्रदेशमा बिस्तार गर्न जरुरी रहेको बताए । उनले सेवा बिस्तारका लागि मन्त्रालयको तर्फबाट सबै सहयोग गर्न आफू तयार रहेको बताए । मन्त्री बस्नेतले मानसिक रोगी किन बढी रहेका छन् भन्नेबारेमा अध्ययन हुन जरुरी रहेको बताए ।
उनले भने, ‘मानसिक रोगको बारेमा हामीले कुरा गर्दा, नेपालमा सयमा १० जना मानसिक रोगी फेला पर्न थालेको छ । यो अवस्थामा हामी सबैलाई चुनौती नै भइसकेको मानसिक रोग । बच्चाहरूमा पनि त्यस्तै अवस्था सुरु भएको छ । यही सन्दर्भमा ३७ वर्ष पहिलादेखि बालबालिकाको हक अधिकारका लागि लड्दै आएको सिभी नेपालले पाटन मानसिक अस्पतालसँग सहकार्य गरेर अरु सहभागीहरूलाई जुटाएर जुन किसिमले किशोरकिशोरीहरुलाई मानसिक रोगको उपचार गर्ने युनिट बनाउनुभएको छ । यो प्रशंसा गरेर मात्रै पुग्दैन । यो सेवा बिस्तार साथै प्रदेशमा सम्भव भएसम्म बिस्तार गर्न सरकारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।’