कैलाली : एमबीबीएस अध्ययनका लागि कैलालीका राहुल नेपालीको सम्पूर्ण शुल्क सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले तिर्ने भएको छ। चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भए पनि आर्थिक अभावले उनको भर्ना छुटेको थियो । प्रदेश सरकारको समेत आर्थिक छात्रवृत्ति पाएका उनी पनि भर्ना हुनबाट वञ्चित थिए।
कैलालीको गौरीगंगा नगरपालिका–६ का राहुल विपन्न परिवारका हुन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफैंले जोहो गरेर भर्ना गर्न सक्ने अवस्था थिएन।
राहुल युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ हस्पिटल भैरहवामा भर्ना पाउने सूचीमा छनोट भएका थिए। सो टिचिङ हस्पिटलले भर्नाको म्याद पुस २६ गतेदेखि माघ ४ गतेसम्म तोकेको थियो। हस्पिटलले एमबीबीएसको अध्ययनका लागि ४६ लाख लाग्ने कुल शुल्कमा १५ लाख भर्ना हुने बेला नै बुझाउनुपर्ने भनेको थियो।