काठमाडाैं : अमेरिकास्थित मेयो अस्पतालको कार्डियोभास्कुलर मेडिसिनअन्तर्गत एओर्टिक सेन्टरका निर्देशक डा. मलख श्रेष्ठसँग एउटा अनलाइनल सञ्चारमाध्यमले अन्तर्वार्ता लिएको थियो । उक्त अन्तर्वार्तापछि ‘नेपालबाट किन बिदेसिइरहेका छन् डाक्टर ?’ शिर्षक राखेर सामग्री प्रकाशन भयो । उनको उक्त अन्तरर्वाता रास्वपाकी सांसद सुमना श्रेष्ठले एक्समा सेयर गरिन् ।
सांसद श्रेष्ठको उक्त पोस्टलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डा. रामेश कोइरालाले रि ट्वीट गरे । उनले रि ट्वीट गर्दै लेखे ‘अरुले भए मतलब गर्दिन थिएँ, रवीको सरी चैँ चाहिएकै थिएन, मुद्दा पनि बनाइँन् । यो मेरो विषयमा ऐन–नियम नजानेर मलाई जोडेर सरासर डिफेम गर्न सञ्जालमा समेत हालेर गरिएको सोधखोज थियो । सांसद सुमनाको सरी वा काउन्सिलको पत्रबिना म अपरेशन गर्दिन। बरु स्वेच्छिक अवकास लिन्छु ।’
डा.कोइरालाको उक्त पोस्ट पछि सांसद श्रेष्ठले मेडिकल काउन्सिलमा उजुरी नै दिएकी छिन् ।
यस्ताे छ उनकाे उजुरी :
१) हरेक १०० केटी बच्चाको अनुपातमा ११२ केटा बच्चा जन्मिने तथ्याङ्क सन् २०२२को जनगणनाले देखाउनुले लिङ्गभेदी भ्रुण हत्या भैरहेको छ भन्ने प्रष्ट हुन्छ। नेपाल मेडिकल काउन्सिलले स्त्री भ्रुण हत्याबारे के कस्तो अध्ययन सुरु गरेको छ? छोरालाई काखा र छोरीलाई पाखा गर्ने चलन रहेको यस्तो पुरुषप्रधान समाजमा यहाँहरूले क्लीनिकहरुले÷चिकित्सकरुले भ्रुण हत्या गरे÷नगरेको बारे के कस्ता अनुसन्धान वा अनुगमन गर्नु भएको छ? भ्रुणको लिङ्ग पहिचान कानूनी रुपमा अवैध हुँदा पनि यो कसरी सम्भव भैरहेको छ? अहिले सम्म यस्तो कसुरमा कति जनालाई के प्रकारको कारवाही भएको छ? कहिले र कुन ठाउँमा? विस्तृत विवरण उपलब्ध गराईदिनुहोला ।
२) यहाँ संलग्न ट्वीटमा प्रतिष्ठित अस्पतालका एक वरिष्ठ डाक्टरले चार बिरामीको उपचारको क्रममा मृत्युलाई “सहज मान्दियौ“ भन्नु भएको सन्दर्भमा नेपालमा अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने बारे प्रकृया बारे बुझ्न चाहे । के यहाँ भनिएका चार मृत्युलाई साच्चै नै “सहज“ नै मानिएको हो? अस्पतालमा डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने हिंसात्मक घटनालाई यस्ता अभिव्यक्तिले अझै बल पुर्याउन सक्ने हुँदा यसबारे काउन्सिलको धारणा के छ पनि प्रष्ट पार्न अनुरोध छ ।
३) स्वास्थ्यकर्मीको लापरवाहीले गर्दा बिरामीको स्वास्थ्य वा जीवन तलमाथि पर्न गएको भनेर बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा नेपाल मेडिकल काउन्सिलले कथित लापरवाही भएको हो वा होइन भनेर कसरी निक्र्यौल गर्छ? यो प्रक्रियामा आम मानिसले सजिलै उजुरी गर्न सक्छ? सम्बन्धित स्वास्थ्यकर्मीले स्वतन्त्ररुपमा आफ्नो बचाउ गर्न पाउछ कि पाउँदैन? यस्ता विवाद सुल्झाउन कस्तो समन्वयकारी भूमिका निर्वाह गर्छ भन्ने बारे बताउन हुन तथा यस्ता मुद्दामा हालसम्म कति वटा केस काउन्सिललाई उजुरी परेको छ र त्यस्समा काउन्सिलले के कस्तो कदम लिएको छ भन्ने तथ्याङ्क पनि उपलब्ध गराई दिन अनुरोध छ ।
साेही उजुरीपछि डा.कोइरालाले आइतवारदेखि शल्यक्रिया नगर्ने घोषणा गर्दै अर्को ट्वीटमा लेखेका छन्, ‘अरुले भए मतलब गर्दिन थिएँ, रवीको सरी चैँ चाहिएकै थिएन, मुद्दा पनि बनाइँन्। यो मेरो विषयमा ऐन–नियम नजानेर मलाई जोडेर सरासर डिफेम गर्न सञ्जालमा समेत हालेर गरिएको सोधखोज थियो। सांसद सुमनाको सरी वा काउन्सिलको पत्रबिना म अपरेशन गर्दिन। बरु स्वेच्छिक अवकास लिन्छु ।’
यस्तै उनले अर्को ट्वीटमा लेखेका छन्, ‘प्रिय हृदयरोगको अपरेसन गर्न मलाई छान्ने महानुभावहरू,
मेरा बारेमा रास्वपाकी आदरणीय सांसद सुमना श्रेष्ठले नेपाल मेडिकल काउन्सिलमा स्पष्टिकरण सोध्नुभएकाले सो मुद्दा किनारा नलागेसम्म नैतिकरूपले यहाँहरूको अपरेसन गर्न नमिल्ने हुनाले आइतवारदेखि अपरेसन गर्दिन। अरूसँगै गराउनु ल! सरी!–रामेश ।’