कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर-६ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीमा रहेको एक्सरे मसिन थन्किएको छ । संघीय सरकारबाट कोरोना महामारी अगाडि प्राप्त भएको मसिन कर्मचारी अभावमा थन्किएको हो ।
कोरोना अवधिमा एमबीबीएस डाक्टर र रेडियोलोजि टेक्निसियनले केही समय मसिन चलाए पनि अहिले भने थन्किएको छ । स्वास्थ्य चौकीमा दिनहुँ एक्सरे गराउनुपर्ने बिरामी आउने गरेको भएपनि जनशक्ति नराखिदा समस्या भएको स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य चौकी इन्चार्ज लक्ष्मीराज जोशीले चिकित्सक र टेक्निसियन नहुँदा एक्सरे मसिन प्रयोगविहीन रहेको बताए ।
उनले भर्खरै एमबीबीएस डाक्टर आएका भएपनि एक्सरेका लागि जनशक्ति अभाव रहेको बताए। एक्सरे चलाउने जनशक्ति नियुक्तिका लागि नगरपालिकालाई आग्रह गरिएको जोशीले बताए । जनशक्ति नियुक्त नहुँदासम्म एक्सरे चलाउन समस्या रहेको जोशीले बताए ।